
काठमाण्डु, ३० भदौ– शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि हुलहुज्जत गर्नेहरुका कारण जहाज नै कोल्टिएको खुलासा भएको छ ।
बुद्ध एरयले सोमबार विज्ञप्ति जारी गर्दै हुलहुज्जत गर्ने समूहकै कारण उाडनमा थप ढिलाई भएको समेत स्पष्ट गरेको छ । बुद्धले जहाज जम्मा २४ मिनेट मात्र ढिला उडेको बताइएको छ । बुद्ध एयरका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाइएको पत्रमा साँझ निर्धारित समय ६ बजेर ४० मिनेटमा उड्नुपर्ने जहाज २४ मिनेट ढिला गरी ७ बजेर ४ मिनेटमा उडेको उल्लेख छ । त्यसमध्ये १६ मिनेट मन्त्रीका कारण र ८ मिनेट हुलहुज्जत गर्नेहरुका कारण ढिला भएको जनाइएको छ । यसअघि मन्त्री भट्टराईमाथि अभद्र व्यवहार गर्ने समूहले मन्त्रीका कारण एक घण्टा जहाज ढिला उडेको दाबी गरेको थियो ।
मन्त्री भट्टराईले भने आफ्ना कारण १५ मिनेट जहाज ढिला उडेको भन्दै त्यसबाट अन्य यात्रुमा पर्न गएको असुविधाप्रति सार्वजनिक रुपमै क्षमायाचना गरिसकेका छन् । पत्रमा मन्त्रीका निजी सुरक्षा गार्ड र उनका सहयोगीहरुको संयमताको प्रशंसा गरिएको छ । आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्त दाबी गर्ने ज्ञानबहादुर शाही नामका व्यक्तिसहित केहीले मन्त्री भट्टराईका कारण जहाज ढिला उढेको भन्दै उनीमाथि अभद्र व्यवहार गरेका थिए । ‘शनिबार साँझ ६ः५० बजे मन्त्रीज्यू एयरपोर्ट आइपुग्नुभएको थियो । उत्तेजित समूहले उहाँलाई घेरे, तर उहाँ चुपचाप बिमानमा चढ्नुभयो’, पत्रमा छ ।