
नुवाकोट,३०भदौ– नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटरमा प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ ।
नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारवाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो ।
नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने समूहले प्रयोग गर्दै आएका २१ वटा स्काभेक्टरमा ताल्चासहितको साङ्ला लगाइएको प्रहरीले जनाएको छ ।
नदीजन्य सामग्रीको व्यवस्थापनसम्बन्धी ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को टोलीले स्थलगतरूपमा गरेको अनुगमन र अवैध कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले उत्खननमा संलग्न स्काभेक्टर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार नदी एवं खोलामा अवैध कार्य गर्ने तथा त्यसको आसपासमा रोकिएका स्काभेक्टरलाई सोही स्थानमै साङ्लो बेरेर ताल्चा लगाई साँचो कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको छ ।
बर्खाको समयमा जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्पुलगायतका खोलामा अवैधरूपमा बालुवा झिक्ने समूह सक्रिय भएर दोहन बढाएपछि नियन्त्रणका लागि प्रहरी र प्रशासनले यो वर्ष साङ्लो लगाएर कडाइको प्रयास गरेको हो ।