
ललितपुर , २५ भदौ —अर्थमन्त्री डा. युवराज खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकोे चित्राङ्कित तिन थरि सिक्काको लोकार्पण गरेका छन् ।
रु. २ हजार ५ सय र रुं एक हजारका सिक्का पुर्ण रुपमा चाँदीद्धारा तथा एक सयका सिक्का चाँदी र तामा लगायत अन्यवस्तुको मिश्रणबाट निमार्ण भएको बताइएको छ । ललितपुर महानगरपालिका परिवारले मंगलबार जोशीको जन्मोत्सव अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्रीले सिक्काको लोकार्पण गर्दै नेपालको १० कार्यकालका गर्भनर पाइसेकेका जोशीको सम्मान गर्न पाउनु राष्ट्रकै गौरवको विषय भएको बताए ।
सो अवसरमा सांसद पम्फा फुसालले उक्त सिक्कालाई लाखौं पुस्ताले हेर्न र अवलोकन गर्न पाउनेमा खुसी व्यक्त गरिन् । महानगरपालिका प्रमुख चिरिबाबु मर्हजनले जोशीको चित्राङ्कित उक्त सिक्का रु. २ हजार ५ सयका सिक्का २५ हजार थान,रु १ हजारका २५ हजार थान र रु १सयको १० हजार थान नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट छापिएको जानकारी दिए ।
महानगरपालिकाले सर्वसाधरण हातमा सजिलै पुयाउन महानगर —३ का वडा अध्यक्ष श्री गोपाल मर्हजनको संयोजकत्वमा एक सदस्यीय टोली गठन गरी वितरण गर्ने भएको छ । सो अवसरमा जोशीको नाममा एक अक्षय कोषको स्थापना ,हुलाक टिकट प्रकाशन सडक नामाकरण लगायत जोशीद्धारा लिखित सेतो चैत्य पुस्तक अङ्ग्रेजीमा तथा चारुमती र कात्तिक नाच पुस्तक नेपालीमा प्रकाशन गरिने बताइएको छ ।