आत्महत्या गरेकी श्रीमतीलाई पत्र लेख्दै श्रीमानले गरे आत्महत्या

काठमाण्डु टुडे २०७६ भदौ २५ गते १६:३३ मा प्रकाशित

ओखलढुंगा,२५भदौ–आत्महत्या गरेकी श्रीमतीको नाममा पत्र लेखर चिसंखुगढी–६ भदौरेमा एक युवाले आत्महत्या गरेका छन्। ओखलढुंगास्थित भदौरेका २२ वर्षे नविन परियारले आत्महत्या गरेकी २१ वर्षिया श्रीमती गंगा परियारको नाममा पत्र लेखेर मंगलबार आत्महत्या गरेका हुन्।
नविनले भदौ ४ गते झुण्डिएर आत्महत्या गरेकी श्रीमतीकै सल प्रयोग गरेर घर नजिकै रुखमा झुण्डिएर नै आत्महत्या गरेको प्रहरीले जनाएको छ।
एसईईको मौका परीक्षा दिन खोटाङको रावाबेसी गाउँपालिका–२ स्थित माइती गएको समयमा गंगाले झुण्डिएर आत्महत्या गरेको चिसंखुगढी–६का वडाध्यक्ष कृष्ण क्याप्छाकी मगरले जानकारी दिइन्।
अध्यक्ष मगरका अनुसार गंगा परीक्षा दिन माइत जाने भएपछि काठमाडौंमा रहेका नविन घर आएका थिए। घर सल्लाहमै माइत गएकी श्रीमतीले उतै आत्महत्या गरेपछि नविनले पनि आत्महत्या गरेको छन्।
गंगाले आत्माहत्या गर्नुको कारण नखुले पनि नविनले भने पत्नी वियोगको पीडाले आत्माहत्या गरेको उनले लेखेको पत्रबाट पुष्टी भएको छ। ‘प्यारी श्रीमती, तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु,
यो कदम मैले कसैको करकापले लिएको हैन’, नविनले पत्रका लेखेका छन्। उनको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको वडाध्यक्ष मगरले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us