भारतसँग सिमाना जोडिएका नाका तत्काल बन्दगर्नु पर्ने:पम्फा भुसाल

काठमाण्डु टुडे २०७६ भदौ २५ गते १४:२४ मा प्रकाशित

काठमाण्डु , २५ भदौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका खुल्ला राख्न नहुने बताइन् ।

बुधबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने बताइन् । ‘भारतीय सीमा सुरक्षा बलले जब्बरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ सांसद भुसालको भनाई थियो, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’ सांसद भुसालले दुई मुलुकबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारिन् ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देबेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए । उनले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नहुने बरु भारत सरकारसँग कुटनितिक पहल गर्नुपर्ने कंडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us