भरतपुर अस्पतालमा ज्वरोका विरामी थामिनसक्नु

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १७:५८ मा प्रकाशित

चितवन,२४भदौ–भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । उनका अनुसार एकै दिन बहिरङ्ग सेवामा नयाँ एक हजार ९२२ जनासम्म बिरामीले टिकट काटेका थिए । तीमध्ये नौ सय भन्दा बढी ज्वरोका रहेका थिए ।
यससँगै पुराना ज्वरोका तीन सयसम्म बिरामी पुनः परीक्षणका लागि आएकाले अस्पतालले नयाँ विकल्पको खोजी गरी बिरामीलाई सेवा दिन शुरु गरेको पौडेलले जनाकारी दिए। अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार क्लिनिकमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन् । अहिले ज्वरोका बिरामीमा डेङ्गु र ईन्फुलुएन्जा देखिएको छ । क्लिनिकमा रहेका स्वास्थ्यकर्मीले डेङ्गु देखिएमा तत्काल रगतको परीक्षण र ईन्फुलुएन्जा देखिएमा थुकको परीक्षण गरी उपचार गर्न शुरु गरेको उनले जानकारी दिए ।
बहिरङ्गको मेडिकल विभागमा आउने बिरामीलाई परीक्षण गर्न पाँचजना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले आज अस्पतालको योजना समितिको बैठक बसेर ज्वरोको क्लिनिक स्थापना गर्ने र मन्त्रालयसँग थप चिकित्सक माग गर्ने निर्णय गरेको जानकारी दिए । यससँगै विशेष परिस्थिति भएकाले चिकित्सक स्वास्थ्यकर्मीलाई बिदामा नबस्न आग्रह गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।
अस्पतालमा आएका बिरामी फर्कन नपरोस भन्नका लागि सबै खालका व्यवस्था मिलाइएको उनले बताए । अस्पतालमा रहेका विशेषज्ञ चिकित्सक र सेवाका कारण धेरैको विश्वास भएकाले बिरामीले पालो कुर्नुपर्ने हुँदा धैर्यता अपनाइ सेवा लिनसमेत तिवारीको आग्रह छ ।
जिल्लामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सोमबार साँझसम्म तीन हजार ९९५ जनाको रगतको नमूना परीक्षण गर्दा एक हजार ३१६ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए । डेङ्गुकै कारण जिल्लामा दुई जनाको मृत्यु भइसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us