नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १६:४९ मा प्रकाशित

काठमाण्डु,२४भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएका छन् ।

मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपाह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुयाउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताए ।
उनले पाइपलाइन परियोजना सञ्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने बताए । ‘पाइप लाइन परियोजनाले नेपाली उपभोक्तामा सकारात्मक प्रभाव पारेको छ’, प्रधानमन्त्रीले भने, ‘आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ ।’
उनले आयोजना सम्पन्न गर्न भारत सरकारले गरेको सहकार्य र सहायताका लागि आभार प्रकट गरे । ‘परियोजना नेपाल र भारतको व्यापार तथा पारवहन पूर्वाधारको सम्बन्धमा ‘कनेक्टिभिटी’ को सर्वश्रेष्ठ उदाहरणसमेत हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
नेपाल–भारतको सहकार्यका क्षेत्र एकाध परियोजनामा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले रेलवे, सडक, जलविद्युत्, एकीकृत जाँच चौकीलगायत विविध क्षेत्रमा द्विपक्षीय सहायताका लागि सम्झौता भएको बताए ।
प्रधानमन्त्री ओलीले पारस्पारिक लाभका लागि दुई देशबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण सिर्जना गरेको बताए । ‘हाम्रा दुई देश बीचको सम्बन्ध यति गहन छ, यसलाई जहाँ र जहिले पनि विस्तार गर्ने अवसर रहेको छ’, उनले भने ।
नेपाल र भारत दुवै स्पष्ट बहुमतसहित राजनीतिक स्थायित्वको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बढ्दो आर्थिक वृद्धिदर, गतिशील र सक्षम मानव संशाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको छ ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us