बिचौलियबाट जनतालाई सास्ती

काठमाण्डु टुडे २०७६ जेठ २ गते १३:४७ मा प्रकाशित

जनकपुरधाम, २ जेठ – गाउँका मानिस प्रहरी कहाँ नजाने मानसिकताको फाइदा बिचौलियाले लिने गरेको देखिएको छ ।

प्रदेश नम्वर २ मा बिचौलिया प्रहरी कार्यालय धाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको हो ।

बिचौलियाका कारण दुःख परेको मानिसले न्याय पाउनमा जटिलताको समस्या व्यहोर्नु परिरहेकोतर्फ ध्यानाकर्षण गराइएको छ । प्रहरीमा पनि विभागीय नीतिको अनुसरण नगरी आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

प्रदेश नं २ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले ब्यारेक भवनको उद्घाटन गर्दै विकृति र विसङ्गति हटाउन सबैको सहयोगको आवश्यकता भएको बताए ।

प्रहरीमा जसरी पनि पैसा कमाउने सोचमा परिवर्तनको खाँचो छ भन्दै विभागीय नीति अनुसरण नगरी सेवा भावभन्दाविपरीत क्रियाकलाप गर्ने प्रहरीलाई कारवाहीसमेत गरिएको उनले बताए ।

प्रहरी निरीक्षक नीरञ्जनकुमार सिंहले र चार करोड ६५ लाख १८ हजारको लागतमा सो भवन निर्माण गरिएको जनाकारी दिए । तीनतले सो भवनमा १५० जना प्रहरी जवान र अधिकृतको आवासको व्यवस्था गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us