चट्याङ लागेर २८ वटा भेडा मरे

काठमाण्डु टुडे २०७६ जेठ २ गते १३:१५ मा प्रकाशित

लमजुङ, २ जेठ – लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा मरेका छन् ।

गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिए ।

चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते नै गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए ।

‘भेडा मरेको खबर पाएसँगै १५ जनाको टोली भेडीगोठमै पुग्यौँ । चट्याङ लागेर २८ वटा भेडा मरेको पायौँ । धेरै माउ भेडा मरेका छन्’, दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक गुरुङले भने, ‘भेडा मर्दा झण्डै साँढे ५ लाख बढिको क्षति भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us