
काठमाण्डु, २ जेठ – विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् । पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो ।
त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन् । उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाण्डु ल्याइने कम्पनीले जनाएको छ । हराएका रोडरीगोको खोजी भइरहेको छ । यस सिजनमा यस कम्पनीबाट कञ्चनजंघा आरोहणमा चारवटा आरोहण दल गएका थिए । तीनमा २३ आरोही थिए ।
यीमध्ये एक जर्मनी र दुई भारतीय नागरिक बिरामी भएकाले बिहीबार बिहान कैलाश एयरको हेलिकप्टरले उद्धार गरी काठमाण्डु ल्याउने तयारी गरीरहेको छ ।