सिन्धुलीमा चट्याङ लागेर ३ जना घाइते

काठमाण्डु टुडे २०७६ जेठ २ गते १०:५९ मा प्रकाशित

सिन्धुली, २ जेठ – सिन्धुलीको तीन पाटन गाउँपालिका – ७ मा चट्याङ लागेर गत राति ३ जना घाइते भएका छन । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते हुनेहरुमा तीनपाटन गाउँपालिका– आरुबोटेका ३२ वर्षीया उखमाया लामिछाने, १३ वर्षीय ज्ञानबहादुर मसराङगी मगर र ३८ वर्षीया सितामाया सार्की रहेका छन् ।

घाइते मध्ये सितामायाको अवस्था गम्भीर रहेकोले तिल्पुङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

लामिछाने र मसराङगी भने सामान्य उपचारपछि घर फर्किएका छन् । बर्षातसँगै परेको चट्याङले सोही ठाउँका फरीबहादुर तामाङको ३ वटा बाख्रा, १ वटा बोको र १ वटा कुखुरा मरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us