दलित बस्तीमा खानेपानीको हाहाकार

काठमाण्डु टुडे २०७६ जेठ २ गते १०:२२ मा प्रकाशित

स्याङ्जा, २ जेठ – हामीलाई पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् ।

देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर २५ घर रहेको पुष्पगाउँका दलित बस्तीमा भने कुनै तन्त्रले छोएको छैन् ।

व्यवस्थामा परिवर्तन आए पनि यो गाउँका स्थानीयवासीले डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेका छन् । ‘एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ, बिहान उठेर पानी लिन नागास्थान धारामा जानुपर्छ,’ डोकोमा पानीको गाग्री बोकेर घरतर्फ आउँदै गरेकी ३६ वर्षीया सन्सारी बिकले भनिन्, ‘पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कूल पठाउनसमेत समस्या हुने गरेको छ ।’

बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको मुक्तबहादुर बिकको गुनासो छ । उनले भने, ‘त्यति टाढाबाट ल्याएको पानी घरपरिवारले खाने कि गाईवस्तुलाई खुवाउने ?’ पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छौं भने पनि आफूहरुले कतैबाट सहयोग नपाएको उनको गुनासो छ ।

किचनास आधारभूत विद्यालयकी शिक्षिका सुनिता सुनारले बिहान झिसमिसेमै उठेर पानी बोक्नुपर्ने भएकाले राम्रोसँग निद्रासमेत पुर्‍याउन नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘बिहान उठेर पानी बोक्ने कि घरको काम गर्ने निकै समस्या भएको छ ।’ पानीकै कारण कहिलेकाहीँ त विद्यालय जानसमेत ढिला हुने गरेको सुनिताले बताइन् । गाउँका वृद्धदेखि बालबच्चासम्म बिहान–बेलुका पानी बोकेरै अधिकांश समय बिताउन बाध्य छन् ।

लामो बाटो ठूलाठूला गाग्रीमा पानी बोक्नुपर्दा ढाडका साथै नशा च्यापिनेसम्मका समस्या आएको स्थानीय बासिन्दा बताउँछन् । गाउँमा पानीको समस्याले आफूहरु गाग्रीसँग सम्झौता गर्न बाध्य भएको र पानीकै अभावमा गाउँमा सरसफाइसमेत गर्न नसक्नुका साथै केही आयआर्जनका कामसमेत हुन नसकेको उनीहरुको गुनासो छ ।

बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले पुष्पगाउँको दलित बस्तीमा खानेपानी समस्या समाधानका लागि आफूले पहल गरिरहेको र मूलको समस्याले गर्दा केही ढिला भए पनि पुष्पगाउँका बासिन्दालाई पानी खुवाएरै छाड्ने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us