काठमाण्डुलगायत देशभरको गर्मी कहिले घट्छ ? यसो भन्छन् मौसमविद

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १०:०६ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – पानी नपरेका कारण देशभर बढेको गर्मी आजदेखि केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । मौसदविद् वरुण पौडेलले आजबाट काठमाण्डलगायत केही स्थानमा गर्मी घट्ने जानकारी दिए । उनले आज हल्का वर्षाको स्म्भावना रहेकाले गर्मी घट्ने बताए ।


आज पश्चिमबाट पश्चिमी वायु प्रवेश गर्ने भएकाले तापक्रम केही घट्ने मौसमविद्को भनाइ छ । पानी नपरेका कारण यस हप्ता काठमाण्डु उपत्यकासहित देशभर गर्मी बढेको छ ।

महाशाखाले दिएको पछिल्लो विवरण अनुसार केही दिनयता देशका प्रायः सबै भूभागको तापक्रम बढ्दै गएको छ । जसले गर्मी बढाउँदै लगेको छ । हालसम्म नेपालगन्जमा सबैभन्दा धेरै गर्मी नेपालगन्जमा रहेको छ ।

नेपालगन्जको तापक्रम हाल ४३ डिग्री सेन्सियस रहेको छ । त्यसपछि सबैभन्दा धेरै गर्मी धनगढीमा छ । धनगढीको तापक्रम शुक्रबार ४२.८ डिग्री सेल्सियस छ ।

दिपायलकोको तापक्रम ४०.३ डिग्री छ । यस्तै २४ घन्टामा भैरहवाको तापक्रम ३८ डिग्री छ । बिराटनगर, पोखरा, दाङ र डडेलधुराको तापक्रम ३७.७, ३१.८, ३७.७ र २९ डिग्री सेल्सियस रहेको छ । उपत्यकामा पनि चर्को गर्मी काठमाण्डु उपत्यकामा पनि वर्षकै चर्को गर्मी भएको छ ।

महाशाखाका अनुसार शुक्रबार काठमाण्डु उपत्यकाको तापक्रम वर्षकै उच्च ३१.३ डिग्री पुगेको छ । चर्को गर्मीसँगै उपत्यका र बाहिरका जिल्लामा सरुवा रोगका विरामीहरु बढेका छन् । उपत्यकामा हैजाका समेत विरामी भेटिएका छन् ।

अबका तीन दिन पहाडी क्षेत्रका एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसमी अनुमानः

दिउँसो: देशको पश्चिमी भूभाग लगायत पूर्वी तथा मध्यका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदलि रही बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने  संभावना छ। पूर्वी तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: देशको पहाडी भू-भागमा  आंशिक  बदलि रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने  संभावना छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २८ गते (शनिवार):

दिउँसो: पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको संभावना छ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: पूर्वी भेग लगायत  मध्य र पश्चिमि पहाडी भू-भागमा  आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २९ गते (आईतवार):

 दिउँसो: पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको संभावना छ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: पहाडी भू-भागमा  आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us