
झापा, २६ बैशाख – वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट उद्धार गरिएको छ ।
भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहीबार बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताए । म्यानमासँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट ती महिलालाई उद्धार गरिएको थियो ।
केही महिनाअघि म्यान्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो ।
मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् । रासस