
एजेन्सी । भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ । एद्गार साम्ब्रानो देशको संसद्का उपाध्यक्ष हुन् । पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गाडीलाई नै तानेर उनलाई कारागार लगियो ।
गत महिना राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य विद्रोह गराउने प्रयासपछि साम्ब्रानो पक्राउ पर्ने पहिलो विपक्षी नेता हुन् ।
अमेरिकासमेत ५० राष्ट्रले ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । तर मदुरोलाई रुस, चीन र भेनेजुएलाको सेनाको समर्थन छ र उनले सत्ता छाड्न अस्वीकार गर्दै आएका छन् ।
कसरी गरियो पक्राउ ?
डेमोक्र्याटिक एक्शन पार्टीका नेता कार्लोस प्रोस्पेरीले सेबिन भनिने गुप्तचर निकायले साम्ब्रानोलाई पक्राउ गर्नुभन्दा केही बेरअघि राजधानी कराकसमा आयोजित पार्टीको एउटा बैठकमा आफू उनीसँग भएको बताएका छन् ।
‘गाडी घेरियो,’ उनले भने, ‘उनीहरूले हामीलाई उनी (साम्ब्रानो) भएको ठाउँमा जान दिएनन् ।उनीहरूले गाडी तान्ने ट्रक ल्याए र उनको गाडीलाई तानेर लगियो ।’ साम्ब्रानोलाई एल एलिकोइद जेलमा राखिएको हुन सक्ने उनको भनाइ छ ।
प्रोस्पेरीले भने, ‘हामीलाई उनी कस्तो स्थितिमा छन् र एल एलिकोइदमा के हुँदैछ भन्ने थाहा छैन ।’
ग्वाइदोले पनि वरिष्ठ नेता पक्राउ परेकोबारे ट्वीट गरेका छन् । उनले गाडी तानेर लैजानुलाई मूर्खता भनेका छन् ।
देशको सर्वोच्च अदालतले साम्ब्रानो र संसद्का अन्य छ उपाध्यक्षलाई असफल भएको सैन्य विद्रोहमा सहभागी भएको आरोपमा देशद्रोहको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो ।
मदुरोलाई समर्थन गर्ने संविधानसभाका प्रमुखले विद्रोहका एक मुख्य षड्यन्त्रकारी पक्राउ परेको र उनीहरूविरुद्ध मुद्दा चलाइने सरकारद्वारा सञ्चालित टेलिभिजनलाई बताए । साम्ब्रानोको ट्विटरमा पनि उनी पक्राउ परेकोबारे लेखिएको छ ।
गत हप्ताको सङ्घर्षपछि के भयो ?
मे १ मा सरकार तथा विपक्षी समर्थकहरूले राजधानीमा प्रदर्शन गरे । सुरुमा ती प्रदर्शन शान्तिपूर्ण नै थिए । तर पछि गोली चलेको विवरण आउन थाल्यो । त्यही दिन एक व्यक्तिको गोली लागेर मृत्यु भएको बताइएको छ ।
सरकार र विपक्षी दुवै पक्षले आफ्ना समर्थकलाई सडक तताउन आह्वान गरेका छन् । मङ्गलवार ग्वाइदोले मदुरोलाई सत्ताच्युत गर्ने अभियानको अन्तिम चरणको घोषणा गरे । बीबीसीबाट