मोदीसँग टक्कर नगर्ने भन्दै नेपाल आएनन् चिनियाँ राष्ट्रपति

काठमाण्डु टुडे २०७१ असोज ६ गते २:३५ मा प्रकाशित

नयाँदिल्ली– दक्षिण एसियालाई फन्को मार्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाण्डु उत्रेनन्, तर उनले क्षेत्रीय भूराजनीतिमा नेपाललाई जोड्न छाडेनन् ।

xi_jinping_AFP_360
छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका राष्ट्रपति जिनपिङ पहिलो क्षेत्रीय भ्रमणमा गत साता नेपाल नआउँदा काठमाण्डुमा खल्लो महसुस भयो ।

तर त्यससँग जोडिएको भूराजनीतिक परिस्थिति मिलाउँदै गए काठमाण्डुले चाँडै नै उनलाई स्वागत गर्न पाउने छ । भारतको प्रधानमन्त्री भएलगत्तै नरेन्द्र मोदीले छिमेकसँगको सम्बन्धलाई कूटनीतिक प्राथमिकतामा राखे । तत्कालै भुटान र नेपाल भ्रमण गरी आक्रामक कदम बढाए ।

मोदीको अग्रसरताबाट सतर्क भए पनि चीनको छिमेक नीतिमा परिवर्तन आएको छैन । तर तत्काल राष्ट्रपतिको नेपाल भ्रमण गराएर मोदीलाई सीधै टक्कर दिन बेइजिङले चाहेन ।

मध्य एसियाको ताजकस्तान, मालदिभ्स, श्रीलंका र भारत पुगेका राष्ट्रपति जिनपिङ यही भूराजनीतिक कारणले नेपाल आएनन् । अमेरिकाको ‘एसिया धुरी’ रणनीति सामना गर्न छिमेकलाई प्राथमिकता दिने नीति लिएको चीन आर्थिक, राजनीतिक, सुरक्षा सम्बन्ध विस्तार गरी भारतसँग रणनीतिक साझेदारी बढाउन चाहन्छ ।

दिल्लीसँग राम्रो सम्बन्ध बनाउने प्रयासअन्तर्गत शक्तिशाली प्रधानमन्त्री मोदीसँग क्षेत्रीय मामिलामा टक्कर होइन, सहकार्य अहिले जिनपिङको नीति हो । पाकिस्तान भ्रमणसमेत स्थगित भएको अवस्थामा राष्ट्रपति जिनपिङ अहिले काठमाण्डु उत्रिएका भए मोदीसँग सीधै टक्कर लिएको देखिन्थ्यो ।

काठमाण्डुमा दिल्ली र बेइजिङको सिधासिधा प्रतिस्पर्धा नेपालको हितमा हुँदैनथ्यो ।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us