
काठमाण्डु, ६ असोज– उच्चरक्तचाप र कोलेस्ट्रोलबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाहको हात शनिबार बिहान एक्कासि झमझमायो । तत्काल उनका निजी चिकित्सक डा.. किशोर राणा निर्मल निवास पुगेर स्वास्थ्थ जाँच गरे ।
अत्याधिक धूमपान गर्दै आएका ज्ञानेन्द्रको र्इसीजी र रगत परीक्षण गर्दा अवस्था सामान्य देखियो तर डा. राणालाई त्यसप्रति शंका लाग्यो ।
त्यसपछि थापाथलीस्थित नर्भिक अस्पतालमा मुटुरोग विशेषज्ञ भारत राउत र यादव भट्ट लगायतको सल्लाहमा फेरि ज्ञानेन्द्रको इसीजी गर्ने निष्कर्ष निकालियो ।
साँझ ६ बजे दोस्रोपटक इसिजी गर्दा ६८ वर्षीय ज्ञानेन्द्रमा हृदयघातको संकेत देखियो । राति नौ बजेतिर ज्ञानेन्द्रले पनि छातीमा पीडा महसुस गर्न थाले । त्यसपछि चिकित्सकले उनलाई तुरन्त अस्पताल गएर उपचार गर्न सुझाव दिए ।
ज्ञानेन्द्रलाई उपचारका लागि राति १० बजे नर्भिक अस्पताल पुर्याइयो । अस्पतालमा एन्जियोग्राफी गर्दा उनको मुटुको देबै्रपट्टिको रक्तनली पूर्णरुपमा बन्द भएको पाइएपछि बेलुको सहयोगमा बन्द रक्तनली सफा गरियो ।
ज्ञानेन्द्रकी छोरी प्रेरणाका छोरा पार्थबहादुर सिंहको जन्मदिन शनिबार परेकाले जन्म दिन तयारी भइरहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो । यसले गर्दा जन्मदिन मनाउने कार्यक्रम रद्द गरिएको थियो ।
राउतका अनुसार समयमै उपचार भएकाले ज्ञानेन्द्रको मुटु क्षति हुनबाट जोगिएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले अब कहिल्यै पनि घूमपान नगर्ने प्रतिबद्धता जनाएका छन् ।
अन्नपूर्ण पोष्टबाट