प्रचण्डले रुँदै भने, ‘हामीले सच्चा देशभक्त गुमायौं’

काठमाण्डु टुडे २०७१ असोज ५ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, ५ असोज – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहभरि आँशु पार्दै स्वर्गीय नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को अभाव पार्टीमा खट्किरहने बताएका छन् ।

pb daiपार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’को निधनको स्मृतिमा पार्टी मूख्यालय पेरिसडाँडामा आइतबार आयोजित शोकसभामा प्रचण्डले त्यस्तो बताएका हुन् । बोगटी समकालिन राजनीतिका एक उत्कृष्ट नेता भएको प्रचण्डले स्पष्ट पारेका छन् । प्रगतिशिल धारका सबै राजनीतिक शक्तिलाई एक बनाएर कम्युनिष्ट केन्द्र स्थापना गर्ने उनको चाहना रहेको प्रचण्डले बताएका छन् ।

दिवाकरप्रति सच्चा श्रद्धाञ्जलीका लागि सबै कम्युनिष्ट एक भएर शक्ति केन्द्र बनाउनु पर्ने प्रचण्डले आग्रह गरेका छन् । एमाओवादी अध्यक्षको नाताले एकजुट हुन मेरो र पार्टीको तर्फबाट गर्नुपर्ने पहलकदमी गरिरहने घोषणा गरेका छन् ।

नेता भट्टराईले बोगटीबिना प्रचण्ड र बाबुराम प्रचण्ड/बाबुराम रहन सक्दैनथे भन्दै भावुक भएका थिए । बोगटीले बाबुराम र प्रचण्डमा सधंै एकता भएको मात्र देख्न चाहन्थे र पार्टी एकताबद्ध भई क्रान्तिकारी भइरहोस् भन्ने उनको मनोकाङक्षा रहेको भट्टराईले बताएका छन् । मञ्चमा बाबुरामले संबोधन गरिरहँदा प्रचण्ड छटपटाइरहेका देखिन्थे ।

अप्ठेरो परिस्थितिमा पार्टीमा सबैले बोगटीको नाम लिने गरेको र उनले बोल्दा कसैले कुरा काट्ने नगरेको भट्टराईले खुलासा गरेका छन् । २०५३ सालमा क बादललाई कारबाही गरेपछि पश्चिममा क्रान्तिको नेतृत्व गर्ने नेताको खडेरी पर्दा दिवाकर जीलाई जिम्मेवारी सुम्पिएर पठाएको प्रसङग भट्टराईले उल्लेख गरेका थिए ।

कार्यक्रममा एमाले पार्टी सचिव गोकर्ण विष्टले समाज बदल्न हिडेको योद्धाले संसार छोडेर जाँदा मुलुकलाई नै घाटा पुगेको र बाम आन्दोलनमा गम्भिर क्षति पुगेको बताएका छन् । उनको निधनप्रति एमाले पार्टीपक्ति नै शोकमग्न रहेको जानकारी दिए ।

नेकपा – माओवादी उपाध्यक्ष सीपी गजुरेलले बर्षौ सहकार्य गरेको नेता गुमाउँदा दु: ख लागेको बताएका छन् । अहिलेको संकटको घडिमा इमानदार नेताको खाँचो रहेको तर उनको मृत्युपश्चात्त हाम्रो पार्टीलाई समेत घाटा पुग्ने भन्दै दु : ख व्यक्त गरेका छन् ।

त्यस्तै राप्रपा नेपालका नेता चन्द्रबहादुर गुरुङले नेपाली राजनीतिले देशभक्त , असल, शालिन, भद्र नेता गुमाएको बताएका छन् ।

बाम विश्लेषक श्याम श्रेष्ठले पार्टी भित्रको वहुकेन्द्र भत्काएर एक भएमात्र दिवाकरप्रति सच्चा श्रद्धाञ्जली दिएको ठहर्ने जिकीर गरेका छन् । उनी पार्टीभित्र एकता भएको हेर्न चाहने एक सच्चा नेता रहेको श्रेष्ठले स्पष्ट पारेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us