६ महिनाकी गर्भवतीलाई निर्ममतापूर्वक जलाइयो

काठमाण्डु टुडे २०७१ असोज ५ गते २:०१ मा प्रकाशित

नेपालगञ्ज, ५ असोज– नेपालगञ्जस्थित बाँके गाउँमा बस्दै आएकी ६ महिनाको गर्भ रहेकी एक महिलालाई आगो लगाएर विभत्स रुपमा जलाइएको छ , प्रहरीले ३० वर्षीया साजाहाँ राई काबडियालाई जलाएको आशंकामा उनका पति मोहमद समीरलाई पक्राउ गरेको हो ।
शरीर पूरै जलेकी गर्भवती साजाहाँलाई शुक्रबार राति उपचारका लागि भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको नर्स सुभद्रा रोकायले उनको अवस्था अत्यन्तै नाजुक रहेको बताइन् । ‘छट्पटाइरहेकी छन्, स्लाइन दिने ठाउँसमेत छैन, नसाहरु सबै जलेका छन्,’ रोकायले भनिन् ।

अस्पतालमा सजाहाँका कुरुवासमेत कोही छैनन् । ‘यताउताबाट हामीले नै ओषधिउपचार गरिरहेका छौं,’ रोकायले भनिन् । अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हुँ भन्दै आएको तर खाना लिन आउँछु भनेर हिँडेपछि फर्केर नआएको बताए । ‘कोही आफन्त पनि आएका छैनन्, पानी र खाना दिने मान्छे समेत कोही छैन’ केसीले भने । अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us