मकाउको भिसामा नेपालीलाई रोक

काठमाण्डु टुडे २०७१ असोज ५ गते १:५५ मा प्रकाशित

काठमाण्डु, ५ असोज– चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई सार्वभौम मुलुकजस्तो भान हुने गरी नेपालले सरकारी कागजात जारी गरेकोमा असन्तुष्टि जनाउँदै त्यहाँस्थित चिनियाँ विदेश मन्त्रालयले नेपाली राहदानी बाहकलाई चिनियाँ भिसा दिन अस्वीकार गरेको छ ।
वैदेशिक रोजगार विभागको त्रुटिका कारण त्यहाँ कार्यरत नेपालीहरू चिनियाँ भिसा लिनबाट बञ्चित भएका हुन् । यससँगै श्रम तथा रोजगार मन्त्रालय र विभागको कुटनीतिक अज्ञानतासमेत सार्वजनिक भएको छ ।
मकाउ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले यसका नाउँमा जारी हुने सरकारी कागजातमा स्पेशल एडमिनिस्ट्रेटिभ रिजन (एसएआर) पिपुल्स रिपब्लिक अफ चाइना (पीआरसी) छोटकरीमै भए पनि अनिवार्य लेखिनुपर्ने मान्यता छ । तर नेपालको वैदेशिक रोजगार विभागद्वारा जारी ‘वैदेशिक रोजगार अनुमति’ स्टिकरमा मुलुकको नाउमा ‘मकाउ’ मात्र उल्लेख छ ।

पछिल्लो समय चिनियाँ विदेश मन्त्रालयको कमिस्नर कार्यालयले यस्तो राहदानीबाहकको भिसासम्बन्धी निवेदन अस्वीकार गर्दै आएको छ । रोजगारीका लागि विदेश जानेहरुले विभागद्वारा जारी उक्त स्टिकर राहदानीमा अनिवार्य टाँस्नुपर्ने हुन्छ ।

त्यसमा मकाउ मात्र उल्लेख हुँदा यो चीन मातहत नभएर छुट्टै सार्वभौम राष्ट्र भएको अर्थ लाग्ने बताउँदै त्रुटि नसच्चाएसम्म यस्ता नेपाली राहदानीबाहकलाई भिसा दिन नसक्ने चिनियाँ पक्षले जनाएको छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us