काठमाण्डु, ४ असोज– एकीकृत माओवादीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको आयोजना विकास सम्झौताप्रति विरोध नरहे पनि सरकारले राष्ट्रिय सहमति नगरी पिडीएमा हस्ताक्षर गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता दीनानाथ शर्माले राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षी दलहरुसँग सहमति गर्नुपर्नेमा पीडीएको विषयमा सरकारले आफूलाई सर्वेसर्वा ठानेर ज्ञानेन्द्रको चरित्र प्रदर्शन गरेको आरोप लगाए ।
‘पिडीएप्रति सैद्धान्तिक रुपमा हाम्रो असहमति होइन’, शर्माले भने, ‘तर राष्ट्रिय महत्वको विषयमा प्रतिपक्षीसँग सल्लाह नै नगरी जसरी आफूलाई सर्वेसर्वा ठानेर ज्ञानेन्द्र शैलीमा सम्झौताको निर्णय भयो, त्यसमा हाम्रो आपत्ति छ ।’
प्त्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेकपा माओवादीले सर्वपक्षीय राजनीतिक सभा बहिष्कार गरेर ठूलो गल्ती गरेको बताए । सभा बहिष्कार गरेर नेकपा–माओवादीले राजनीतिक रुपमा पार्टीलाई ठूलो नोक्सानी पुर्याएको उनको भनाइ छ । सत्तारुढ काँग्रेस–एमाले र नेकपा माओवादीको दुई फरक अतिवादी सोचका कारण अन्तिम समयमा आएर राजनीतिक सभा भाँडिएको शर्माले बताए ।