दिनदिनै बढ्दैछन् पत्नी पीडित

काठमाण्डु टुडे २०७१ असोज ४ गते ३:३९ मा प्रकाशित

जनकपुर, ४ असोज– दुई वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका धनुषा सतोखर गाविस गेरुबाहीका कारी ठाकुरले घर फर्कंदा चार छोराछोरी मात्र अलपत्र अवस्थामा फेला पारे ।
उनकी पत्नी बिना चारवटै सन्तानलाई छाडेर परपुरुषसँग गएको थाहा पाएपछि ठाकुर छाँगाबाट खसेझैं भए ।

पत्नी फर्काउन सहयोग माग्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका ठाकुरले छलफलका लागि बोलाइएकी पत्नीको खुट्टा समात्दै घर फर्कन अनुनय विनय गरे । पत्नी घर फर्कन नमानेपछि ठाकुर एक्लै चार सन्तानको लालनपालनमा लागेका छन् ।
पति विदेश गएको बेला छोराछोरी छाडेर पत्नी परपुरुषसँग हिँड्न थालेपछि धनुषामा पत्नीपीडित पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा पाँच महिनामा २८ जना पुरुषले पत्नीबाट पीडित भएको भन्दै न्यायका लागि निवेदन दर्ता गराएका छन् ।

अधिकांश पुरुष वैदेशिक रोजगारीबाट फर्किएका रहेको र उनीहरुलाई पत्नीले छाडेर गएको दुःखभन्दा पनि छोराछोरीको भविष्य अन्धकारमा पर्ने चिन्ताले सताउने गरेको महिला तथा बालबालिका सेल धनुषामा कार्यरत प्रहरी हवल्दार सुजित पासवानले बताए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us