गाेरखाका सात गाविसमा खाद्यान्न अभाव
काठमाण्डु टुडे
२०७१ असोज ३ गते १२:५९ मा प्रकाशित
गाेरखा, ३ असाेज – गोरखाको उत्तरी भेगमा रहेको सात गाविसमा खाद्यान्न अभाव भएको छ।
नेपाल खाद्य संस्थान र स्थानीय व्यापारीले खाद्यान्न ढुवानी नगर्दा यस्तो अभाव भएको हो। सिर्दिवास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँमा खाद्यान्न अभाव भएको तिब्बतसँग सीमा जोडिएको सामागाउँका वीरबहादुर लामाले जानकारी दिए।
खाद्यान्न अभाव भएपछि मनास्लु पदमार्ग क्षेत्रमा रहेका होटलहरूले गाउँलेसँग मागेर छाक टारेका उनले जानकारी दिए। दोस्रो व्यापारिक केन्द्र आरुघाटदेखि सामागाउँसम्म पुग्ने बाटो दर्जनौँ ठाउँमा बिग्रेकाले बर्खायाममा खाद्यान्न ढुवानी हुन नसकेको स्थानीय होटल व्यवसायीसमेत रहेका लामाको भनाइ छ।
गत जेठ महिनामा चौँरीमार्फत तिब्बतबाट सामागाउँका स्थानीय बासिन्दाले चामल किनेर ल्याएका थिए। त्यो चामल कोही कोहीको घरमा मात्रै बाँकी रहेको सामागाउँका कर्मा छेवाङ लामाले जानकारी दिए।
उनले भने, “दसैँ आइसक्यो, चामल छैन। नुन, तेलजस्ता खाद्यान्न पनि सकिनै लाग्यो।”
सामागाउँमा वनजङ्गल धेरै नभएकाले खाना पकाउने इन्धन मट्टितेल र ग्यास पनि सकिनै लागेको उनको भनाइ छ। खाद्यान्न ढुवानीका लागि स्थानीय व्यापारीले १५ दिनदेखि खच्चड खोजे पनि नपाएको उनले जानकारी दिए।
स्थानीय पसलमा चामल, दाल, नुनतेल नभएको उनको भनाइ छ। तिब्बतको नाका पनि बन्द भएकाले सामागाउँ क्षेत्रमा खाद्यान्न अभाव भएको उनले जानकारी दिए।
सामागाउँलगायत सिर्दिवास, बिही, प्रोक, ल्हो, चुम्चेत र छेकम्पार गाविसमा पनि खाद्य संस्थान र पसलको खाद्यान्नले नपुगेर हाहाकार भएको स्थानीय जनताले जानकारी दिएका छन्।
“तिब्बतबाट ल्याएको चाउचाउ मात्रै पसलमा छ,” छेकम्पार गाविसकी फुलामु लामाले भनिन्, “आरुघाटमा चामल ल्याउन आदेश गरे पनि ढुवानी गर्ने खच्चड पाएको छैन।”
नेपाल खाद्य संस्थान गोरखाले दसैँअघि उत्तरी गोरखामा रहेका सिर्दिवास र गुम्दाको माछाखोला खाद्य डिपोका लागि खाद्यान्न लगिसक्नुपर्ने भए पनि ठेकेदारले ढुवानी सम्झौता नगर्दा खाद्यान्न लैजान नसकिएको जनाएको छ।