माग पूरा नगरे आन्दोलन गर्ने उमावि संघर्ष समितिको चेतावनी

काठमाण्डु टुडे २०७१ असोज ३ गते ९:२८ मा प्रकाशित

काठमाण्डु, ३ असोज – उच्च माध्यमिक विद्यालय संयूक्त संघर्ष समितिले सरकारले आफ्ना माग कार्तिक मसान्तसम्म पनि पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

hssशुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले विगतमा उमावि परिषदसँग सम्झौता भए अनुसार नीजी उमाविहरुले आफूहरुलाई अझै सम्म पनि स्थायी नियूक्ति पत्र नदिएको र न्यूनतम तलब समेत नदिएको भन्दै आगामी कार्तिक मसान्तसम्म पनि आफ्ना माग पूरा नगरे सशक्त रुपमा चरणवद्ध आन्दोलन गर्ने उद्घोष गरेको छ ।

संघर्ष समितिले उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको पेशागत हकहित सूरक्षा र भविष्य सुनिश्चित गर्नका लागि उमावि शिक्षा परिषद सेवा आयोग गठन गर्नुपर्ने, स्थायी नियूक्ती प्रदान गरिनुपर्ने, शैक्षिक क्यालेन्डरलाई प्रभावकारिताका साथ तुरुन्त लागु गर्नुपर्ने, उत्तरपुस्तिका परिक्षणलाई मर्यादित, पारदर्शी तथा परिक्षण गरे वापत पाउने पारिश्रमिक तत्काल वृद्धि गरिनुपर्ने लगायतका माग राखेको छ ।

संघर्ष समितिका सदस्य एवम व्यवस्थापन संकायका संयोजक गंगाप्रसाद पराजुलीले आफूहरुलाई उमाविले जहिले पनि आश्वासन मात्रै दिने गरेको तर सहमती कहिल्यै पनि कार्यन्वयन नगरेको भन्दै आक्रोश पोखेका छन् । पराजुलीले भने– आजसम्म हामी २ पटक वार्तामा बसिसकेका छौं, तर हामीलाई खाली आश्वासन मात्रै दिईन्छ । कार्यान्वयन कहिल्यै पनि हुँदैन । उनले आफ्ना मागहरुको यथाशिघ्र सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

समितिले आगामी असोज ५ गते सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने, उत्तरपुस्तिका परिक्षण बहिष्कारलाई निरन्तरता दिने, हातमा कालोपट्टी बाँध्ने, कार्तिक मसान्तसम्म पनि माग पूरा नगरे भोलि पल्ट बाटै कक्षा बहिष्कार गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us