सञ्चारमाध्यमले मलाई सिध्याउन खोजे : मन्त्री रिजाल

काठमाण्डु टुडे २०७१ असोज ३ गते ८:५८ मा प्रकाशित

काठमाण्डु, ३ असोज – सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले आफूलाई सञ्चारमाध्यमले सिध्याउन खोजेको भन्दै गुनासो पोखेका छन् ।

minendra-rijalएन्टेना फाउन्डेशन, सर्च फर कमनग्राउण्ड र अमेरिकी सहयोग नियोगद्वारा शुक्रबार पाँचतारे होटल अन्नपूर्णमा आयोजित ‘गाउँ गाउँमा सिंहदरबार’ नामक गीती नाटक शुभारम्भ गर्दै रिजालले सञ्चारमाध्यमले आफूलाई लखेटेको बताएका हुन् ।

मन्त्रीबाट फालिन लागेको चर्चा चलिरहेका बेला सार्वजनिक कार्यक्रममा उपस्थित भएका रिजाल उनको हँसिलो स्वभावभन्दा निकै मलीन र हतास देखिन्थे । रिजालले आफ्नो भाषणको पूरै अवधि मिडियाप्रति गुनासो गर्दै सिध्याए ।

उनले भने- ‘एक सय प्रति छापिने ‘ख’ वर्गका साप्ताहिक, ‘अनलाइन न्यूजपोर्टल’ देखि ‘मेनस्ट्रीम ब्रोडसिट’ अखबारले समेत भ्रष्टाचारी र अनैतिक भनेपछि गैंडाको छालाजस्तै भइसकियो ।’

सरकारका प्रवक्तासमेत रहेका रिजालले जसले जे लेखे पनि अब वास्ता गर्न छाडेको भन्दै मिडियाले तथ्यमा आधारित समाचार नलेखेको दाबी गरे ।
रिजालले भने-  ‘अमेरिकामा राम्रो काम गरिरहेका थिएँ, यही देशमा केही गर्ने सोचका साथ आएँ । तर, मेरा बारेमा यति रब्बिस (बकवास समाचार छापिएका छन्, त्यो पढ्दा पढ्दै अब पचाउन थालेँ ।’

मन्त्री रिजालले मिडियाले सबैलाई भ्रष्ट, अनैतिक र घुसखोरी गरेको भन्दै एउटै बास्केटमा नराख्न आग्रह गर्दै यस्ता समाचारले हाम्रो मनोबल खस्कने बताएका छन् ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोड्डेले नेपालमा द्रुत गतिमा विकास भएको देखेर आफू चकित भएको बताए । नेपालका ९५ प्रतिशत जनता रेडियो सुन्छन् भन्ने रिपोर्ट हेर्दा आफूलाई अचम्म लागेको भन्दै उनले नेपालमा पछिल्लोपटक भएको संविधानसभा निर्वाचनले यो मुलुक अघि बढ्छ भन्ने सन्देश दिएको बताए ।

कार्यक्रममा पूर्वसचिव कृष्णहरि बास्कोटाले नेपालमा सरकारले सामाजिक सुरक्षा र जनहितका धेरै योजना लागु गरे पनि जनचेतनाका अभावमा लक्षित समुदायले सो सुबिधा लिन नसकेको बताए । बास्कोटाले भने – यसका लागि मिडियाले जनतालाई सचेत गराउनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us