कमल थापा जन्माउने मै हो: लावती

काठमाण्डु टुडे २०७१ असोज ३ गते ३:५३ मा प्रकाशित

lawatiकाठमाण्डु, ३ असोज– राप्रपा नेपालका संस्थापक नेता पद्मसुन्दर लावतीले आफैले अघि बढाएको कमल थापाले एकलौटी र तानाशाही ढंगले पार्टी चलाएको भन्दै नसच्चिए पार्टी भित्रै नयाँ शक्ति उदय गर्ने चेतावनी दिएका छन् ।
उनले अध्यक्ष पदमा आफूले सुरुदेखि नै इच्छा नगरी थापालाई ल्याएर जन्माएको बताउँदै अहिले आफैलाई कारवाही गर्छु भन्दै हिंडेकोमा उदेक लागेको समेत बताए । कमल थापालाई पार्टीमा मैले जन्माएको हो । हुर्काएको पनि हो । अहिले संस्थापक नेताकै कुराकानी नसुनी मनोमानी गरिरहेका छन्,ु संस्थापनको कार्यशैलीप्रति असन्तुष्टी राख्दै सुरु भएको सुदृढिकरण अभियानबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा लावतीले भने, मलाई अब अध्यक्ष चाहिएको होइन, मन्त्री चाहिएको छैन । विवाद नगरी पार्टी चलाउ भन्दा दुखमात्र दिइरहेका छन् । हामी चुप लागेर बस्दैनौं ।
राप्रपासँग विवाद भएपछि विशेष महाधिवेशन गर्दा तत्कालीन संस्थापक नेताहरु रविन्द्रनाथ शर्मा र राजेश्वर देवकोटाले अध्यक्ष पदमा दावी गर्दा आफैले सम्झाई बुझाई थापालाई उक्त पद थमाएको दाबी उनले गरे । तर, त्यसपछि पार्टीलाई अहिले पनि दासप्रथा जसरी अघि बढाएको उनको आरोप थियो । गत संविधानसभा चुनावताका उठेको करोडौं रुपैया हिसाबकिताब पेस नगरेको र २५ जना सभासद मनोनयन गर्दासमेत पैसाको कारोबार भएको उल्लेख गर्दै लावतीले भने, पैसाको प्रलोभनमा सभासद बनाएको सुनेपछि मैले कुरा उठाए । तर अध्यक्ष बैठकै नबोलाई हामीप्रति खनिए ।
आफ्नै भाई गणेश थापालाई सभासदमा पछिल्लोपटक मनोनयन गरेर अख्तियार, सार्वजनिक लेखा समिति र अदालत समेतलाई चुनौती दिइएको उनले बताए । पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणमा ६ करोड रुपैया सहयोग गरेका पूर्वकोषाध्यक्ष दिलविकास राजभण्डारीलाई स्पष्टीकरणको मौकासमेत नदिई कारवाही गरेकोमा आफूहरुको पार्टीभित्रै संघर्ष जारी रहेको उनले सुनाए । पछिल्लो समय लावती समूहले संस्थापनका गतिविधिको विरोध गर्न जिल्ला(जिल्लामा सम्पर्क कार्यालय बनाई सुदृढिकरण अभियान सुरु गरेको छ । उक्त समूहले मंसिर ५ र ६ गते राजधानीमा विशेष भेला गर्ने समेत जनाएको छ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us