मलेसियाबाट फर्काइए ३ सय ७१ अवैध कामदार

काठमाण्डु टुडे २०७१ असोज ३ गते २:५२ मा प्रकाशित

काठमाण्डु, ३ असोज– मलेसियाले तीन सय ७१ जना नेपाली गैरकानुनी कामदारलाई बिहीबार स्वदेश फर्काएको छ ।  यी कामदार एअर एसियाको विमानबाट आइपुगेका हुन् ।
Malesiaउनीहरुलाई श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उनीहरुसँग मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात पनि थिए । मलेसिया नेपाली कामदारका लागि पहिलो गन्तव्य हो । हाल मलेसियामा करिब ५० हजार नेपाली कामदार अवैध रुपमा बसिरहेको अनुमान छ । भिसा अवधि सकिएका, कागजपत्र हराएका र कानुनअनुसार दर्ता नभएका कामदारलाई मलेसिया सरकारले गैरकानुनी भन्दै आएको छ ।
गैरकानुनी आप्रवासी कामदारको संख्या बढ्दै गएपछि पछिल्लो समय मलेसिया सरकारले आममाफीको कार्यक्रम ल्याएर स्वदेश फर्कन प्रोत्साहित गरेको थियो । आममाफीको समयसीमा सकिएपछि पक्राउ पर्ने डरले धेरै गैरकानुनी नेपाली कामदार दूतावासको शरणमा पुगेका थिए ।
राजदूत बस्न्यातका अनुसार दूतावासको शरणमा रहेका गैरकानुनी कामदार फर्कने क्रम सुरु भएको छ । मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेपछि आइएमई मलेसियाले ५० जना अलपत्र कामदारलाई टिकक उपलव्ध गराउने बचन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us