सुशील र ओलीको उपचारमा राज्य कोषबाट कति भयो खर्च ?

काठमाण्डु टुडे २०७१ असोज ३ गते २:४१ मा प्रकाशित

काठमाण्डु, ३ असोज– अमेरिकी अस्पतालमा प्रधानमत्री सुशील कोइरालाको उपचार गर्दा राज्यकोषबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।
sushil-kp oliराष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्रीले न्यूयोर्कको अस्पतालमा फलोअप उपचार गराउनेछन्, यसको खर्च पनि राज्यले नै तिर्नेछ ।
प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर देखिएपछि गत असारमा उनलाई अमेरिकाको न्यूयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पताल लगिएको थियो । त्यहाँ रेडियोथेरापीबाट उनको उपचार भएको थियो । आठ वर्षअघि जिब्रोमा क्यान्सर देखिएपछि उनी हरेक वर्ष सो अस्पताल जाँदै आएका छन् ।
उपचारमा खर्च भएको एक करोड ४३ लाख ३८ हजार ८ सय ४५ रुपैयाँको विल अस्पतालले नेपाल सरकारको नाममा पठाएको थियो । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी दिएको छ ।
यसैबीच, सरकारले वामन्थी नेतृ साहना प्रधानको उपचारमा १३ लाख १६ हजार ९ सय रुपैयाँ दिएको छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको उपचारका लागि राज्यले एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा मिर्गौला र थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा क्रिप्टोकोकल म्यानेन्जाइटिसको उपचार गरिएको थियो । त्यस्तै कांग्रेस नेता गोविन्दराज जोशीको उपचारमा राज्यले २७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको उपचारमा पनि सरकारले ८० लाख खर्च गरेको छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us