काठमाण्डु, २ असोज – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आफूलाई दबाव र धम्की नआएको बताएका छन् ।
सम्वाद समितिको प्रतिवेदनमाथि संविधानसभामा विहीबार भएको छलफलपछि भट्टराईले दबाव आएपनि खुट्टा नकमाउने स्पष्ट पारेका हुन् ।
कुनै दललाई आक्षेप लगाउन खोजेको नभई संविधान नबनोस् भन्ने चाहना राख्ने वा अघिल्लोपटक जस्तै योपटक पनि संविधान बन्दैन भनेर कटाक्ष गर्नेहरुप्रति सतर्क रहनुपर्छ भन्ने मात्रै आफ्नो भनाइ रहेको उनले बताए ।
‘धम्की आयो, दबाव आयो भन्न खोजेको होइन’ उनले भने९मैले बनावटी कुरा गरेको होइन । आमरुपमा यो के हो भन्ने मात्र प्रस्तुत गरेको हो ।’
एमाओवादी नेता समेत रहेका भट्टराईले यस्ता शक्ति को हुन् के हुन् भन्नेतर्फ लाग्नुभन्दा समयमा संविधान बनाएर उनीहरुको मुख बन्द गर्नुपर्ने बताए ।
छलफलका क्रममा सभासदहरुले खुट्टा नकमाउनुस्, हामी साथ दिन्छौं भनेको स्मरण गर्दै भट्टराईले भने९ ‘म खुट्टा कमाउनेवाला मान्छे परिँन । किनकि मान्छेलाई सबैभन्दा ठूलो डर मृत्युको हुन्छ, जसले मृत्युलाई जितेको हुन्छ, त्यो कसैसँग पनि डराउँदैन ।त्यसैले हामीले डराउन आवश्यक छैन ।’
सम्वाद समितिका सभापति भट्टराईले समयमा अग्रगामी संविधान बनाउन आफू प्रतिवद्ध रहेको बताए । उनले माघ ८ भित्रै संविधान बनाउनुपर्छ भन्नेमा संविधानसभाका सबै दलहरु प्रतिवद्ध रहेको आफूले पाएको बताए ।
भट्टराईले सबैखाले अतिवादबाट बच्नु पर्ने भन्दै सामान्य प्राविधिक बाहेकका विषयमा सहमतिका आधारमा अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।