माअाेवादीले राजनीतिक सभामा भाग नलिएर अवसर गुमाएः सिंह

काठमाण्डु टुडे २०७१ असोज २ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, २ असोज – उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेकपा–माओवादीले सर्वदलीय राजनीतिक सभामा भाग नलिएर  संविधान निर्माणमा सहमति जुटाउन महत्वपूर्ण अवसर गुमाएको बताएका छन् ।

Prakash-Man-Singhनयाँ संविधान सहमति र सहकार्यमा नै तयार हुनुपर्छ भन्ने मूल मान्यताले प्रधानमन्त्री कोइरालाले सर्वदलीय राजनीतिक सभा राख्नुभएको थियो, यसमा नेकपा–माओवादीले भाग लिएर आफ्नो भनाइ नराखेर गम्भीर भुल गरेको उपप्रधानमन्त्री सिंहले टिप्पणी गरे ।

गणेशमान सिंहको १७औं स्मृति दिवसका अवसरमा गणेमानसिंह अध्ययन प्रतिष्ठानद्वारा बिहीबार शोभाभगवतीमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा नेकपा–माओवादीसित संविधान निर्माणमा सहमति जुटाउन सहकार्य समाप्त भई नसकेको धारणा राख्दै उनले निर्धारित समयभित्र संविधान जारी गर्न आफ्नो पार्टी हदैसम्मको लचकताका साथ प्रस्तुत भएको बताए  ।

नेपाली प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंह लौहपुरुष हुनुहुन्थ्यो, उहाँकै योगदानबाट प्रजातन्त्रको स्थापना भएको उल्लेख गर्दै उनले देख्नुभएको प्रजातान्त्रिक समाजवाद स्थापना गर्न पार्टीले ध्यान दिनुपर्दछ उपप्रधानमन्त्री सिंहले भने ।

एक फरक प्रसङ्गमा आवश्यकता देखेमा प्रधानमन्त्रीले मौजुदा मन्त्रिमण्डलमा विस्तार र थपघट गर्न सक्ने उपप्रधानमन्त्री सिंहले बताए ।

प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष स्वर्गीय गणेशमा सिंहको स्मृतिमा फाउन्डेशन र नेपाल विद्यार्थी सङ्घले तीन दिनसम्म विविध कार्यक्रम आयोजना मनाइरहेको छ । साथै कांग्रेसले आफ्ना संस्थापक नेता स्वर्गीय सिंहको जन्मशताब्दी आगामी कात्तिक २४ गतेदेखि एक वर्षसम्म विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us