मानवअधिकार आयोगको अध्यक्षमा शर्मा सिफारिस

काठमाण्डु टुडे २०७१ असोज २ गते ५:२५ मा प्रकाशित

anuprajकाठमाण्डु, २ असोज– संवैधानिक परिषदले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको नाम सिफारिस गरेको छ ।

परिषदको सिंहदरबारमा बिहीबार बिहान बसेको बैठकले शर्मालाई आयोग अध्यक्षमा सिफारिस गरेको हो । यस्तै आयोग सदस्यमा सर्वोच्चकै पूर्वन्यायाधीश प्रकाश वस्ती तथा अधिकारकर्मीहरु मोहना अन्सारी, सुदीप पाठक र डा. गोविन्द शर्मा पौडेलको नाम सिफारिस गरिएको परिषद् सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

दलीय भागबण्डामा कुरा नमिल्दा लामो समयदेखि अध्यक्ष र सदस्इ नियुक्ति नहुँदा आयोग कार्यबाहक सचिवका भरमा चल्दै आएको थियो । मानवअधिकार हननका घटनाबारे छानबिन गरी कारबाही सिफारिस गर्ने एक मात्र निकाय मानवअधिकार आयोग पदाधिकारी नहुँदा लामो समयदेखि निस्प्रभावी बन्दै आएको थियो ।

परिषद्ले सिफारिस गरेका नाममा संसदीय सुनुवाई विशेष समितिमा सुनुवाई सकिएपछि राष्ट्रपतिले संवैधानिक निकायका पदाधिकारी र सदस्य नियुक्त गर्ने प्रावधान छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगमा रिक्त सदस्य नियुक्तिबारे भने छलफल भएन ।
यसअघि संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न सोमबार बोलाइएको बैठक एमाओवादी नेता पोष्टबहादुर बोगटीको निधनका कारण स्थगित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us