तीन महिनामा काम गरेर देखाइदिन्छु : उद्योगमन्त्री

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ – उद्योगमन्त्री महेश बस्नेतले आफूलाई केही काम गरेर देखाउन तीन महिनाको समय दिन आग्रह गरेका छन् ।

maheshरिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले आफूले तत्काल रुग्ण उद्योग सञ्चालन गर्न प्रयास थाल्ने र त्यसको लागि तत्काल कार्ययोजना ल्याउने तयारीमा आफू लागेको भन्दै तीन महिना समय दिन आग्रह गरे ।

साक्षात्कारमा मन्त्री बस्नेतले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गरेर दिनहुँ विदेशीने यूवा शक्तिलाई रोक्न आफूले औद्योगिक क्रान्तिको खाका तयार पारिरहेको जानकारी दिदै मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गर्न ऐन तथा नीति बनाउने बताए ।

क्रसर ब्यवसायीहरुले काम गर्न पाउनु पर्ने भन्दै क्रसर उद्योगमा देखिएको समस्याका कारण जनताले घर नै बनाउन नपाएकोले समस्या समाधानको लागि आफू लाग्ने बताए ।

उनले क्यासिनो मुलुकमा पर्यटन भित्राउने आधार भएकोले यसमा समस्या समाधान गरेर सञ्चालन गर्नु पर्नेमा जोड दिदै मजदुरहरुलाई न्याय दिलाउन आफूले पहल गर्ने बताए । यद्यपि उनले क्यासिनोले रोयल्टी बुझाउने र नेपालीलाई प्रवेश नदिने विषयमा भने गंभिर हुनु पर्नेमा जोड दिए ।

बस्नेतले हिजोको दिनमा क्यासिनो माओवादीहरुको क्यान्टोनमेन्टका रुपमा स्थापित भएको आरोप लगाउँदै आगामी दिनमा मजदुर तथा क्यासिनो सञ्चालकहरुसँग छलफल गरेर सुव्यवस्थित रुपमा यसलाई उद्योगका रुपमा लिएर जानेमा पनि आफू प्रतिबद्ध रहेको जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us