काठमाण्डु, ३१ भदौ– अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै एमालेमा असन्तुष्टि बढेको छ । नेता
माधवकुमार नेपालले ओलीका काम कारबाहीमाथि सोमबारको पदाधिकारी बैठकमै प्रश्न उठाएका हुन ।
संवैधानिक निकायमा नियुक्त गर्ने व्यक्तिहरु, आयोजना विकास सम्झौता पिडिएको विषयमा छलफलका लागि ओलीले सोमबार बिहान बोलाएको बैठकमा नेता नेपाल र उनी पक्षका नेताहरुले ओलीका पछिल्ला कामकारबाहीमा प्रश्न उठाए । ‘पार्टी व्यक्तिगत लहडमा चल्छ कि सामूहिक निर्णय प्रणालीका आधारमा चल्छु’ नेता नेपालको भनाइ थियो, ‘यो पार्टी कसैको व्यक्तिगत पेवा होइन, लाखौं लाख कार्यकर्ता र जनताको रगत र पसिनाबाट निर्मित हो ।
महाधिवेशनपछि पार्टीलाई एकढिक्का बनाएर लैजान्छु भने पनि त्यस्तो व्यवहार नभएको गुनासो नेपालको थियो । सभासद् मनोनयन, संसदमा सभापतिहरु चयन, मन्त्रीहरुको फिर्ता र नयाँ नियुक्ति, सुकुम्बासी समस्या समाधान आयोगका प्रतिनिधिहरु छनौटलगायतका विषयमा ओलीले एकलौटी निर्णय गरेको नेपाल समूहको आरोप छ ।
ओली समूहले भने पार्टीको केन्द्रीय समिति बैठक नबसेको र स्थायी समिति, पोलिट ब्युरोसमेत चयन नभइसकेको अवस्थामा अध्यक्षले नै निर्णय गर्न सक्ने दाबी गर्दै आएको छ । आइतबार अध्यक्ष ओलीले नै पदाधिकारी निर्णय गर्ने पार्टीको कुनै आधिकारिक कमिटि नभएको बताएका थिए ।
सोमबारको बैठकमा नेता नेपालले नवौं महाधिवेशन पछाडि पार्टी कसरी चलेको छ, कसले चलाइरहेको छ, कुन संयन्त्रले निर्णय गरेको छ, महत्वपूर्ण एवम् दुरगामी महत्व राख्ने निर्णयहरु भएका छन् कसको निर्णयको आधारमा भए ? भन्दै प्रश्न गरेका थिए । महाधिवेशनपछि भएका निर्णयहरुको बारेमा समीक्षा गर्न माग गरेका छन् ।
सचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष ओलीले पार्टीभित्रका बिषयमा छलफल गर्न सकिने बताएका थिए । नेपाल समूहकै उपाध्यक्ष भीम रावल र सचिव योगेश भट्टराईले समेत अध्यक्षको कामको आलोचना गरेपछि सोमबार बिहानको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको थियो ।
कान्तिपुर दैनिकबाट