प्रचण्ड भन्छन्, ‘बोगटीको निधनले छोरी गुमाउँदाभन्दा धेरै पीडा भयो’

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते २:११ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपाध्यक्ष पोष्टबहादुर बोगटीको असामयिक निधनले आफूलाई असैह्य prachandaपीडा भएको बताएका छन् ।
प्रचण्डले केही समयअघि छोरी ज्ञानुको मृत्युभन्दा बोगटीको मृत्युले आफूलाई मर्माहत बनाएको भन्दै दुःख व्यक्त गरे । ‘उहाँको असामयिक निधनबारे म शब्दमा व्यक्त गर्न सक्दिन । मलाई यति पीडा कहिल्यै भएको थिएन,’प्रचण्डले भने,‘ केही समयअघि क्यान्सरका कारण मेरी छोरीको निधन भयो । त्योभन्दा बढी पीडा अहिले भएको छ ।’
प्रचण्डले एकजना इमान्दार, निष्ठावान र देशका लागि नभई नहुने नेता गुमाएको भन्दै बोगटीलाई सम्झेका छन् ।
उपाध्यक्ष पोष्टबहादुर बोगटी दिवाकरसँग मेरो भेट २०३९ तिर भएको हो । त्यसबेला म अखिल नेपाल युवा संघको अध्यक्ष थिएँ, उहाँ केन्द्रीय सदस्य । हाम्रो सम्बन्ध ३२–३३ वर्ष लामो हो । सुरुका दिनमा उहाँ मप्रति निकै आलोचक हुनुहुन्थ्यो । पाका नेताहरुप्रति बढी भरोसा भएकाले मप्रति बढी आलोचक हुनु भएको रहेछ ।
पार्टीको पाँचौं महाधिवेशनमा मैले मोहनविक्रम सिंहको धारणाबारे अभिव्यक्ति दिएपछि उहाँ उत्साहित हुनुभयो । त्यसपछि हाम्रो सम्बन्धमा कहिल्यै शंका गर्नुपरेन । उहाँ मेरो कडा आलोचक पनि हो, तर उहाँको आलोचनामा माया झल्कन्थ्यो । २०४७ सालमा एकता केन्द्र बनेपछि सम्बन्ध परिपक्व भयो । २०५२ सालमा जनयुद्ध सुरु गर्नेबेला मेरो प्रमुख भरोसा केन्द्रका रुपमा कमरेड दिवाकर हुनुहुन्थ्यो ।

जनयुद्धकै आधार इलाकाका रुपमा परिपक्व नेतृत्वको खाँचो पर्‍यो, त्यसबेला उहाँ रोल्पा, रुकुम, सल्यान र जाजरकोट जिल्लामा सँगसँगै हिँडेका थियौं । हामी युद्धका बेला रुँदारुँदै हाँस्ने र हाँस्दाहाँस्दै रुने क्षणमा पनि हिड्यौं, तर उहाँ हामीलाई रुवाएर बिदा हुनुभयो । पार्टीभित्र चर्को अन्तरसंघर्ष भएका बेला कहिल्यै दायाबायाँ गर्नुभएन । जहिले पनि पार्टी लाइन र नेतृत्वको पक्षमा लाग्नुभयो । जनयुद्धकै बेला हाम्रो पारिवारिक सम्बन्ध पनि गाँसियो, मेरो छोरा र दिवाकरजीको छोरीबीच विवाह भयो ।

कुरा नमिलेपछि उनीहरुको सम्बन्ध विच्छेद भयो । तर मेरो र दिवाकरजीको सम्बन्ध पहिलेजस्तै सुमधुर रह्यो । हाम्रो सम्बन्ध बिगार्ने प्रयास नभएका होइनन् । तर, उहाँले सम्बन्ध अझै उचाइमा विकास गर्नुभयो । उहाँजत्तिको उचाइ भएको नेता पाउन सायद अब गाह्रो छ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us