खरीदार र सुब्बालाई समातेर भ्रष्टाचार नरोकिने

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १०:२७ मा प्रकाशित

काठमाण्डु, ३० भदौ – संसदको सुशासन अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अख्तियारले गरेका पछिल्ला काम कारवाहीका सम्बन्धमा सोधपुछ गर्ने भएको छ ।

Lok_Man-Singh-Karkiअख्तियारले खरीदार र सुब्बालाई समातेर भ्रष्टाचार रोक्न खोजेको बाहना मात्र गरिरहेको संसदमा प्रश्न उठेपछि सो समितिले कार्कीलाई बुधबार हाजिर हुन पत्र काटेको हो ।

अख्तियारका कामकारवाहीमा प्रश्न उठेका र सानालाई ऐन ठूलालाई चैन भएको गुनासो आएकाले प्रमुखलाई नै छलफलका लागि बोलाइएको सभापति शेरधन राईले बताए । समितिका एक सदस्यका अनुसार अख्तियारकै अधिकारीहरुले ठूला भ्रष्टाचारीसँग मिलेर ‘तँ पिटे जस्तो गर, म रोए जस्तो गरुँला’ भन्ने उखानलाई चरितार्थ गरेको गुनासाहरु पनि समितिसमक्ष आएका छन् ।

अख्तियारको कारवाहीमा परेकाहरुले पनि आशंकाकै भरमा अख्तियारले भ्रष्टाचारी भनेर फाइल र कागजात कब्जामा लिएर चरित्रहत्या गरेको उजुरी पनि समितिमा दिएको ती सभासदले बताए ।

समितिका सभापति राईले भने समिति समक्ष आएका गुनासाहरुका सन्दर्भमा अख्तियारका पदाधिकारीसँग सभासदहरुले जानकारी लिने र अख्तियारबाट यथार्थ जानकारी आउने अपेक्षा गरिएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त भएपछि कार्कीले पहिलो पटक संसदीय समितिको सामना गर्दैछन् । उनले संसदीय सुनुवाइमा समेत अहिलेसम्म जानु परेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us