प्रचण्डको दाहिने हात भाँचियो

काठमाण्डु टुडे २०७१ भदौ ३० गते ५:४७ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको दाहिने हात भाँचिएको छ ।

prachanda
बोगटी पार्टीभित्र लामो समयदेखि प्रचण्डका निकट राजनीतिक सहयोगी मानिन्थे । उनले प्रचण्डलाई पार्टीको आन्तरिक जीवनमा अप्ठेरो परेका बेला सधैं साथ दिँदै आएका थिए । उनी प्रचण्डलाई निस्वार्थ भावले सहयोग गर्ने नेताका रुपमा चिनिन्थे । मध्यमार्गी चरित्रका बोगटी पार्टीभित्र अन्तरसंघर्ष चलेका बेला नेताहरुबीच छलफल चलाएर समस्या समाधान गर्न अग्रसर हुने गर्थे ।

बोगटीले प्रचण्डसँग कहिल्यै सत्ता र शक्तिको बार्गेनिङ नगरेको एमाओवादीमा उनी जिवितै हुँदा चर्चा हुन्थ्यो । उनी प्रचण्डका सबैभन्दा विश्वास prachanda 2पात्र मानिन्थे ।
‘पार्टीभित्र जतिबेला अन्तर संघर्ष बढ्थ्यो त्यतिबेला प्रचण्डलाई साथ दिने प्रमुख नेताका रुपमा बोगटी थिए’, लामो समयदेखि माओवादी बिटमा कलम चलाउँदै आएका पत्रकार रेवती सापकोटा भन्छन्, ‘स्वभाविक रुपमा उनको अनुपस्थितिको बेफाइदा एमाओवादीमा त पर्छ नै सबैभन्दा धेरै असर प्रचण्डलाई पर्छ ।’ सापकोटाले बोगटीको जस्तो व्यक्तित्व दोश्रो तहका नेतामा नरहेकाले एमाओवादीभित्रको शक्ति सन्तुलनमा हेरफेर आउन सक्ने बताए ।

कहिल्यै विवादमा नपरेका नेता
एकीकृत माओवादी संविधानसभामा ठूलो पार्टी भएर सरकारको दुईदुईपटक नेतृत्व गर्‍यो । प्रचण्ड नेतृत्वको सरकारमा बोगटी मन्त्री भएनन् । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट–३ बाट निर्वाचित भएका बोगटी संसदीय दलको प्रमुख सचेतक थिए ।

झलनाथ खनाल नेतृत्वको सरकारमा उनी केही दिन सूचना तथा सञ्चार मन्त्री भए । बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वमा उनले उर्जा, पर्यटन र संस्कृति मन्त्रालय सम्हाले । तर कहिल्यै उनले सत्ताको दुरुपयोग गरेको समाचार कहिल्यै आएन ।

पार्टीभित्र पनि उनी समन्यवकारी नेताका रुपमा चिनिन्थे । अधिकांश नेता कार्यकर्ता बोगटीको सरलता, निष्ठा, लगनशीलताको सधैं तारिफ हुन्थ्यो । पार्टीभित्र लोकप्रिय रहेको पछिल्लो प्रमाण विराटनगर राष्ट्रिय सम्मेलनपछि पोलिट्ब्युरो र स्थायी समिति चयनमा भएको निर्वाचन पनि हो ।

जसमा उनले सबैभन्दा बढी मत ल्याएका थिए । पार्टीभित्र उनी कहिल्यै विवादमा परेका थिएनन् । उनलाई सबै नेता र कार्यकर्ताले आदर्श र नैतिकताको धरोहरका रुपमा सम्मान गर्थे ।

सबैलाई चाहिन्थ्यो बोगटी
एकीकृत माओवादीमा जबजब अन्तरकलह चर्कन्थ्यो । त्यतिबेला बोगटीको खाँचो सबैलाई पथ्र्यो । अध्यक्ष प्रचण्डदेखि बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई विवादका बेला नभई नहुने पात्र थिए बोगटी । जस्तोसुकै विवादका बेला पनि शीर्ष नेताहरुबीचको संवादहीनता अन्त्य गर्ने क्षमता उनमा थियो । पछिल्लो समय प्रचण्ड, भट्टराई र श्रेष्ठ सबैले बोगटी पार्टी एकताका लागि मियो बन्दै गएको आभास गरेका थिए । कयौंपटक प्रचण्ड र भट्टराईबीच बोलचालसमेत बन्द भएका बेला उनले हस्तक्षेप गर्ने गरेका थिए । अन्तरसंघर्षका बेला प्रचण्डलाई भित्रि सहयोग गरेर पनि निषेधको राजनीति गर्न नहुने पक्षमो दृढतापूर्वक उभिन्थे बोगटी । त्यही चरित्रका कारण उनी सबैले पत्याउने पात्र बनेका थिए । प्रचण्ड, भट्टराई र श्रेष्ठ सबैले एकअर्काप्रतिको गुनासो बोगटीसँग गर्ने गर्थे ।

युद्धमा छोरा गुमाउने उच्च नेता
माओवादी जनयुद्धका क्रममा बोगटीेले एक मात्र छोरा गुमाए । युद्धमा छोरा गुमाउने बोगटी सबैभन्दा उच्चस्तरका एमाओवादी नेता हुन् । विद्यार्थी राजनीतिमा रहेका बोगटीका छोरा रविको २०५८ सालमा धादिङको सत्यदेवीमा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो । जतिबेला उनी पार्टीको पश्चिम कमाण्ड इन्चार्ज थिए । एक मात्र छोरा युद्धमा गुमाउँदा पनि उनी कहिल्यै विचलित भएनन् । लगातार पार्टी काममा लागि रहे । उनकी श्रीमती राममाया बोगटी, छोरीहरु प्रतिभा र प्रभा अझै पार्टी काममै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us