पारिवारिक पृष्ठभूमि
नुवाकोट जिल्ला तुप्चे गाविस वडा नम्बर–२ को भित्रिनिटार गाउँमा पोष्टबहादुर बोगटी ‘दिवाकर’ को जन्म २०१० सालमा भयो । बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट बोगटी निम्न मध्यम परिवारमा जन्मिएका हुन् ।
बुबा भैरवबहादुरको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई पोष्टबहादुर बोगटीे पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त भए । समाजसेवी हुादै राजनीतिमा प्रवेश गरेका बोगटी सरल र मिलनसार स्वभावका थिए । उनको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आँगापुटार निवासी राममाया बोगटीसँग भयो । बोगटीका एक छोरा र दुई छोरीमध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाको आक्रमणमा मारिएका थिए ।
राजनीतिक यात्रा र जिम्मेवारी
समाजसेवीको छवि भएका बोगटीको २०३५ सालमा राजनीतिक यात्रा सुरु भएको थियो ।
उनले भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिष्टप्रति लाग्ने प्रेरणा मिलेको बताउने गरेका थिए । चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला २०२५ साल आसपास आफूमा कम्युनिष्टप्रतिको आस्था बढेको उनले बताउने गरेका थिए । बोगटी २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई २०३७ सालमा संयुक्त चौममा आबद्ध भएका थिए । पुष्पलाल समूहले २०३५/२०३६ सालको आन्दोलनमा धोका दिएको भन्दै उनी पुष्पलाल समूह छाडेर संयुक्त चौममा प्रवेश गरेका थिए । संयुक्त चौंथो महाधिवेशनसम्ममा उनी जिल्ला समिति सदस्य भएका थिए । २०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गरे । त्यतिबेला बोगटीकै निर्देशनमा बारा, पर्सा, रौतहटलगायत तराईका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा नेकपा मशाल नुवाकोटको जिल्ला सचि भए ।
२०४३ मंसीरमा क्षेत्रीय ब्युरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपव्युरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्युरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हाले ।
माओवादी शान्ति प्रक्रियामा आउने बेलामा उनले पार्टी पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हालेका थिए । एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भूमका निर्वाह गरे । २०६९ सालमा हेटौंडामा सम्पन्न एमाओवादीको एकताको सातौं राष्टिय महाधिवेशनमा बोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन भए । २०६२/२०६३ सालको आन्दोलनको सफलतासँगै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र न. ३ बाट विजयी भए । संविधानसभा सदस्य हुँदै उनी एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक थिए । उनले भलनाथ खनाल नेतृत्वको सरकामा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यसलगत्तै बनेको डा.बाबुराम भट्टई नेतृत्वको सरकारमा उर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएर काम गरे ।
जेल जीवन
पोष्टबहादुर बोगटीको राजनीतिक जीवनमा जेल जीवन पनि छ । नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराब बढेपछि राजनीतिक पूर्वाग्रह राखी २०४० मा ज्यान मार्ने उद्योग मुद्दामा करिब एक महिना जेल जीवन बिताए । दशैको नवमीका दिन झुठा मुद्दामा पक्रेर लगेको बोगटीलाई मुद्दा सही नठहरिएपछि तिहारको भाइटिकाको दिन रिहा गरियो । यस्तै २०४२ सालमा भएको बमबाण्डमा पनि उनी घरबाटै पक्राउ परे । त्यसबेला उनी पार्टीको जिल्ला समिति सचिव थिए । उक्त बम काण्डमा उनको गाउँ तुप्चेबाट ११ जना र नुवाकोट जिल्लाबाट गणेश पण्डित सहित २७ जना पक्राउ परेका थिए । सो बम काण्डमा पक्राउ परेका दिलीप चौधरीलाई तत्कालिन राज्यले बेपत्ता बनाएर हत्या गरेको थियो ।