विदेशीको लगानीमा नेपालमा अफिम खेती फैलंदै

काठमाण्डु टुडे २०७१ भदौ ३० गते २:०६ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– असारको पहिलो साता बाँके, कोहलपुरमा २० किलोग्राम प्रतिबन्धित अफिमसहित ५ जना पक्राउ परे ।
afimप्रहरीले बासुदेवपुरका एक स्थानीयको घरमा छापा हानेर फेला पारेको अफिम रुकुममा उत्पादित थियो ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी रणबहादुर चन्दका अनुसार बरामद सबै अफिम रुकुमको साखु गाविसका स्थानीयले उत्पादन गरेर भारत लैजाने क्रममा त्यहाँ भण्डारण गरिएको थियो ।
‘अनुसन्धानमा भारतबाट आएका काराबारी आफैंले बिरुवा दिएर अफिम उत्पादन गर्न लगाएको देखियो,’ चन्दले भने, ‘प्राय कारोबारी आफैं आएर अफिमको चोप र गेडा किन्ने गरे पनि कसैकसैले भने भारतमै मगाउँछन् ।’
उनका अनुसार लागूओषधका अन्तर्राष्ट्रिय कारोबारीको सक्रियता उस्तै छ । पछिल्लो समय यस्ता कारोबारी गाँजासँगै अफिम खेतीमा समेत सक्रिय हुन थालेका छन् ।
प्रहरी अनुसन्धानमा हेरोइनको कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोह आफैं ग्रामीण भेगमा पुगेर किसानलाई अफिम खेतीमा लगाइरहेका छन् ।
पूर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवाल सीमापारिबाट अफिम उत्पादनमा लगानी बढिरहेको बताउँछन् ।
उदयपुरको ग्रामीण क्षेत्रमा अफिम खेती भइरहेको जानकारी पाएपछि पुगेको प्रहरीले १३ कट्ठामा लगाएको बाली नष्ट गरेर फर्कियो । डीआईजी सिलवालका अनुसार त्यहाँ लगाइएको अफिम अफगानी गुणस्तरको रहेछ ।
प्रहरी अनुसन्धान भन्छ, ‘पाँच विकास क्षेत्रमध्ये मध्यमाञ्चल पूर्वाञ्चल र मध्यपश्चिम जिल्लामा अफिम खेती बढी हुने गरेको छ, नेपालमा व्यवसायिक अफिम खेती हुने जिल्लाको संख्या नै १० पुगिसकेको देखिन्छ,’ ब्युरोको प्रतिवेदन ०७१ मा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us