
काठमाण्डु, ३० भदौ– साढे दुई महिनाअघि पक्राउ परेका गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल र अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई कारागारले एकै ठाउँमा राखेको छ ।
डिल्लीबजार जेलमा रहेका बाहुनलाई दुई साताअघि कारागार व्यवस्था विभागले केन्द्रीय कारागारको गोलघरमा सारेको हो । ‘बिकिनी किलर’ का नामले विश्वमै कुख्यात शोभराजलाई तीन वर्षदेखि केन्द्रीय कारागारभित्रको गोलघरमा राखिएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा बाहुनलाई पनि गोलघरमा सरुवा गरिएको डिल्लीबजार कारागारका जेलर खड्कराज शर्माले जानकारी दिए ।
गोलघर जेलभित्रको जेल मानिन्छ ।
जेलबाट भाग्न सक्ने, झगडा गर्न सक्ने भएकाले ठूला पेसेवर अपराधीलाई गोलघरमा राख्ने गरिन्छ । गोलघरमा बस्नेहरुले बाहिरका कैदी-बन्दीसँग भेट्नसमेत पाउँदैनन् । आफन्तलाई भेट्न पनि निकै कडा गरिने केन्द्रीय कारागारका जेलर शम्भु रेग्मीले बताए ।
बाहुनलाई काठमाण्डु जिल्ला अदालतले पुर्पक्षका लागि १८ साउनमा जेल पठाएको थियो । लागुऔषध नियन्त्रण ऐनअनुसार उनलाई १५ वर्ष कैद सजाय माग दाबीसहित मुद्दा दायर भएको छ ।
त्यस्तै क्यानाडेली नागरिक लउरेन्ट करिरेको हत्या मुद्दामा भक्तपुर जिल्ला अदालतमा पनि शोभराजविरुद्ध १९ चैत ०३१ मा मुद्दा दायर भएको थियो । सो मुद्दामा बयान दिन उनले अस्वीकार गर्दै आएका छन् ।
नयाँ पत्रिकाबाट