बुटवल, २९ भदौ– पूर्वपश्चिम राजर्मागअन्तर्गत रुपन्देहीको सालझण्डीमा भएको कार दुर्घटनामा एक पत्रकारसहित तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाल पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष बिजुवार–६ का ४४ वर्षीय सूर्य विक, बाँधीकोटका ४५ वर्षीय खीमबहादुर गिरी र उनका छोरा रोहण छन् । घटनामा पत्रकार विककी श्रीमती ४२ वर्षीया रमा चालक कृष्ण सुनार गम्भीर घाइते भएका छन् ।
उनीहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्यूठानबाट बुटवल आउँदै गरेको बा ९ च १८१२ नम्बरको निजी कार सालझण्डी– ७ सीतापुरमा सडक छेउको रुखमा ठोक्किएर आइतबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रुखमा ठोक्किएपछि अनियन्त्रित भएको कार सडकबाट १० मिटर तल पोखरीमा खसेको छ ।