काठमाण्डु, २९ भदौ– तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले नेपालबाट मधेस अलग गर्ने अभियानमा सक्रिय डा. सीके राउतलाई
पक्राउ गरिएकामा आपत्ति जनाएका छन् ।
गुप्ताले आइतबार विज्ञप्ति जारी गरी मुलुकको प्रचलित कानुनविपरीत पञ्चायती शैलीमा पक्राउ गरिएको आरोप लगाएका छन् । उनले राउतलाई तत्काल रिहा गर्नसमेत माग गरेका छन् ।
राउतलाई सामाजिक सदभाव खल्बल्याउने गतिविधि गरेको आरोपमा प्रहरीले मोरङको रंगेलीबाट गएराति पक्राउ गरेको थियो । विज्ञप्तिमा गुप्ताले सीकेको पक्राउ विगत केही महिनादेखि मधेसमा सरकारबाट निरन्तर भइरहेको गैरन्यायिक हत्या र राजनीतिप्रेरित दमनको पछिल्लो रुप भएको जिकिर गरेका छन् ।
‘मुलुकको प्रचलित कानून अनुसार पक्राउ पुर्जी नदिई तथा पक्राउ गरिनुको कुनै कारण नबताएर गरिएको यो गिरफ्तारी मधेसमा अझै पंचायती व्यवस्था नै कायम रहेको पुष्टी गरेको छ’, गुप्ताले भनेका छन्, ‘राजनीतिक रुपमा एकात्मवादी र व्यवहारमा परम्परादेखि नै दमनकारी रहेको विद्यमान राज्यको संरचनामा आमूल रुपान्तरण गर्ने यस बेलामा कसैको विचार अभिव्यक्तिको विषयलाई लिएर गिरफ्तारी गरिनु सर्वथा अनुचित कार्य हो ।’
राउतले संवैधानिक राजनीतिक तथा संवाद समिति सभापति बाबुराम भट्टराई समक्ष नेपालबाट तराई अलग गरिनुपर्ने प्रस्ताव राखेका थिए ।