आज राष्ट्रिय बालदिवस, बालबालिकाको अवस्था उस्तै

काठमाण्डु टुडे २०७१ भदौ २९ गते ३:३८ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– राष्ट्रिय बाल दिवस आज बालअधिकारबारे विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसको यो वर्षको नारा ‘बालबालिकाका कुरा सुनौँ, बालदुव्र्यवहार अन्त्य गरौं’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा महिला बालबालका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बालकल्याण समिति तथा बालअधिकारका क्षेत्रका क्रियासिल विभिन्न संघसंस्थाले राजधानीसहित देशभर विविधि कार्यक्रम गर्दैछन् ।

सरकारले बाल दिवसको अवसर पारेर आजदेखि ‘बालबालिकामाथि हुने शारीरिका मानसिक दण्ड सजायविरुद्ध राष्ट्रिय अभियान’ सुरु गर्दैछ । नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको थियो ।

सोही दिनको अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यसैबीच दिवसका अवसरमा शुभकाकामना सन्देश जारी गर्दै प्रधानमन्त्री सुशील कोइरालाले सरकार बालबालिकाको अधिकार र हकहितका लागि काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उनले बालबालिकामाथि हुने गरेका हिंसा र दुव्र्यवहारका घटना रोक्न तथा हिंसामा परेका बालबालिका र उनीहरुका घरपरिवारको समाजमा सम्मानजनक पुनस्र्थापनाका लागि मिलेर काम गर्न सबैमा आग्रह गरेका छन् । नेपालमा होटल, रेस्टुरेन्ट, कलकारखाना, सवारी साधन र घरेलु काममा बालबालिकाको अधिक प्रयोग हुँदै आएको छ ।

बालश्रम ऐन, २०५६ र बालबालिकासम्बन्धी ऐेन, २०४८ ले १६ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानेको छ । कानुनी व्यवस्थाको प्रभावकारी कर्यान्वयन नहुँदा बालबालिकमामाथि हुने दुव्र्यवहार, शोषण र शारीरिक तथा मानसिक यातनाको क्रम थप बढेर गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार हाल देशैभर करिब पाँच हजार सडक बालबालिका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us