काठमाण्डु, २९ भदौ– आफ्ना ‘जनता’ का लागि खाद्यान्न जोहो गर्न गत सोमबार दैलेखको घोडाबास जंगलबाट सुर्खेत हुँदै राजधानी आइपुगेका चार
जना राउटेलाई शनिबार कलंकीस्थित एक निजी विद्यालय पुगेका बेला विद्यार्थीहरुले सोधे,‘ राउटे दाइ तपाईंहरु जुँगा, दाह्री र नङ केले काट्नुहुन्छ ?’
विद्यार्थीको प्रश्नमा मुखिया सूर्यनारायण शाहीले माइक्रोफोनबाट बोल्दै भने, ‘बासुलो वा बञ्चराले दाह्री ताच्छम् । नङ काट्छम्,’ यो जवाफले आश्चर्यचकित बने विद्यार्थी ।
मुखियाले यसै प्रश्नमा उत्तर थपे,‘ अहिले केहीले दाह्री काट्ने ब्लेड र नङकाटो पनि चलाउँछन् तर बासुलो र बञ्चरो छाडिसकेका छैनौं । त्यही सजिलो लाग्छ । पुर्खादेखि चलेको ।’
कविलामा बस्न नरुचाउने फिरन्ते राउटेको जवाफले ती विद्यालय मात्र नभई त्यहाँ भइरहेको उपत्यकाव्यापी बास्केटबल प्रतियोगितामा आएका अरु विद्यार्थी पनि चकित भए ।
राउटेको रहनसहन र आनीबानी थाहा पाएर चकित विद्यार्थीले उनीहरुको नुहाउने प्रचलन, आनीबानी, छोराछोरीलाई गर्ने व्यवहार, उपचार विधि, सन्तान, भगवान, खानपान, दैनिकी र जंगलको बासबारे प्रश्न गरेका थिए ।
कान्तिपुर दैनिकबाट