काठमाण्डु, २८ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धर्म निरपेक्षतासहितको संविधान जारी भए नेपालमा धार्मिक युद्ध हुने
चेतावनी दिएका छन् ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा थापाले सनातन हिन्दूधर्मसहितको संविधान जारी नभए मुलुकमा रक्तपात हुने बताएका हुन् । नेपालमा धार्मिक युद्ध भए त्यसको जिम्मेवारी धर्म निरपेक्षताको ठेकेदार बनेका कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने उनको भनाइ थियो ।
‘जबरजस्ती धर्म निरपेक्षतासहितको संविधान ल्याउने कोसिस भए धार्मिक युद्ध हुन सक्छ’, ‘उनले भने त्यसको जिम्मेवारी धर्मनिरपेक्षताका ठेकेदार बनेकाहरुले लिनुपर्छ ।’
थापाले प्रमुख दलले धर्ममा राजनीति गरेर आम नेपालीको आस्था र भावनामा चोट पुर्याएको आरोप उनले लगाए । थापाले नेपालमा धर्म निरपेक्षता कुनै हालतमा स्वीकार गर्न नसकिने दोहोर्याए ।
धर्मनिरपक्षेता वा हिन्दू धर्म भन्नेबारे जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने उनको भनाइ थियो । थापाले प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादी गम्भीर नभएकाले ८ माघमा संविधान आउनेमा आशंका गरे ।