काठमाण्डु, २८ भदौ– आइतबार राजधानीमा सुरु हुने भनिएको नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विधार्थी संघको ११ औ अधिवेशन अनिश्चित कालका लागि स्थगित भएसँगै अध्यक्षका प्रत्यासी एवम नेविसंघका नेताहरुले काँग्रेस नेतृत्व नै निकम्मा भएको भन्दै आक्रोश पोखेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा नेविसंघका अध्यक्षका प्रत्यासी एवम् नेताहरुले अधिवेशन सार्नु आन्तरिक लोकतन्त्रको चिरहण भएको, काँग्रेस नेतृत्व नै निकम्मा भएको र पार्टीभित्र अझै पनि टिके प्रथालाई निरन्तरता दिने दुष्प्रयास भएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनीहरुले अधिवेशन अब कसैले बोलाउन नसक्ने पनि ठोकुवा गरेका छन् ।
विभिन्न जिल्लामा रहेको विवाद र तयारी नपुगेको खोक्रो कारण देखाएर पार्टी नेतृत्वले अनिश्चित कालका लागि अधिवेशन स्थगित गरेकोमा आक्रोश पोखेका छन् ।
यस्तो छ अध्यक्षका प्रत्यासीहरुको भनाइ
मनोजमणि आचार्य, पूर्वमहामन्त्री
आचार्यले सम्पूर्ण तयारी पूरा भएका बेला एक्कासि अधिवेशन स्थगित हुँदा यसको मुख्य जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने धाराणा राखेका छन् । उनले भने, ‘पार्टी नेतृत्व सुस्त बन्यो, वर्तमान कार्यसमिति निकम्मा बन्यो, त्यसैले दोषको भागीदार पहिलो वर्तमान कार्यसमिति, दोस्रो पार्टी र तेस्रो हामी हौं ।’
आचार्यले देशभरबाट प्रतिनिधि चयन भएर सबै प्रतिनिधि काठमाण्डु आइसकेको बताउँदै तत्काल पार्टीले सक्रियताका साथ केही दिनभित्रै मिति तोकेर अधिवेशन गराउनुपर्ने माग राखेका छन् । ‘देश लोकतान्त्रिक संविधान निर्माणको क्रममा छ । देशलाई लोकतान्त्रिक संविधानका लागि घच्घच्याउने विद्यार्थीहरु भने आफ्नो महाधिवेशनका गराउन लागिरहनुपरेको छ । यो बडो दुर्भाग्य हो’, आचार्यले भने ।
जीतजंग बस्नेत, पूर्वमहामन्त्री
बस्नेतले पार्टीको गलत नियतका कारणले महाधिवेसन स्थगित भएको आरोप लगाएका छन् । उनले भने ‘नियत सफा हुँदो हो त अधिवेशन गर्छु भन्दै ६ पटकसम्म स्थगित हुने नै थिएन । बस्नेतले आगामी एक हप्ताभित्र अधिवेशन गराउन पहल गरिएन भने आफूहरु मोर्चाबन्दी गरेर घेराउमा उत्रिने पनि चेतावनी दिएका छन् । ‘पार्टी नेतृत्वले फेरि टीका लगाउने प्रयास गर्दैछ, अब पनि टीका लगाउनु भनेको नेविसंघलाई कर्महीन बनाउनु हो, मलाई टीके अध्यक्ष चाइएन’ बस्नेतले भने ।
नैनसिंह महर, पूर्वउपाध्यक्ष
महरले अधिवेशन स्थगित गरेर नयाँ नेतृत्व चयनको महाअभियानमा आएका हजारौ प्रतिनिधिमाथि कुठाराघात भएको आरोप लगाए । उनले एक हप्ताभित्र अधिवेशन गराउन नसके पार्टी सभापति सुशील कोइरालाले राजीनामा दिनुपर्ने पनि माग गरेका छन् । महरले भने, ‘महाधिवशेन नगराए अँध्यारो कोठामा निर्णय गरेर टीका लगाउने अभ्यासको निरन्तरता हुन सक्छ, यदि त्यसो भयो भने म मेरो नेतृत्वमा समानान्तर समिति बनाएर जान्छु । नेपाली कांग्रेसमा सुशील, शेरबहादुर र रामचन्द्रको मात्रै कुर्बानी छैन हाम्रो पनि छ ।
कुन्दनराज काफ्ले, पूर्वकोषाध्यक्ष
काफ्लेले अधिवेशन एक्कासि स्थगन गरेर भ्रुण हत्या गरेको आरोप लागएका छन् । काफ्लेले भने– ‘अधिवेशन स्थगित गरेर पार्टीले आन्तरिक लोकतान्त्रको चिरहरण गरेको छ । वर्तमान कार्यसमिति बुख्याँचा हो, बुख्याँचाबाट अधिवेशन हुन सक्दैन । त्यसैले अब पार्टीले विवाद मिलाउन कार्यदल बनाएर अघि बढ्नुपर्छ ।’
उनले थपे, ‘बीपी कोइराला भन्थे, ‘लोकतन्त्र आएपछि सुकीलामुकिलाहरु हावी हुन्छन् र फेरि आन्तरिक लोकतान्त्रका लागि लड्नुपर्छ ।’ हो त्यही लड्ने दिन आएको छ ।’
सरोज थापा, पूर्वसह–महामन्त्री
थापाले अधिवेशन स्थगित गरेर पार्टीले पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका प्रतिनिधिमाथि कुठाराघात गरेको आरोप लगाएका छन । थापाले आक्रोश पोखे, ‘विगतमा स्वायत्त रहेको विद्यार्थी संगठनलाई पार्टीको खेलौना बनाइयो ।’ नेविसंघले आफ्नो अस्तित्व जोगाउन पनि संगठनलाई स्वायत्त बनाइनुपर्ने धाराणा थापाले राखे ।
थापाले भने, ‘लोकतान्त्रिक संस्थाको चुनाव विधानसम्मत हुने कि नहुने भन्ने विषयको बहसका कारण अधिवेशन स्थगित भएको छ । प्रतिनिधिको लिष्ट सर्वजनिक गरेर अधिवेशनमा जानुपर्छ ।’
युपी लामिछाने प्रवक्ता
प्रवक्ता लामिछानेले अध्यक्षका प्रत्यासीहरुका स्वार्थ, नेताहरुका स्वार्थ र जिम्मेवार भूमिकाको आभावमा अहिलेको कार्यसमिति अन्तिम समयसम्म पनि प्रतिनिधि चयन गर्न असफल भएको प्रष्ट पारेका छन् । लामिछानेले थपे, ‘पदाधिकारी बैठकको निर्णय र निर्देशन समितिको निर्देशनमा अधिवेशन स्थगित भएको हो ।’ उनले नेतृत्वले एक हप्ता भत्र अधिवेशन प्रतिनिधिहरुको लिष्ट ल्याउनुस् अधिवेशन गर्छु भनेको पनि जानकारी दिएका छन् ।
उनले भने, ‘प्रत्यासीहरु जिम्मेवार बन्दिनुस् । निर्वाचन कार्यलयमा प्रतिनिधिको नाम बुझाउनुस अनि हुन्छ अधिवेशन । आफैं मात्र ठीक भनेर हुँदैन । हामी सबै जिम्मेवार हुनुपर्छ । बाहिर आवेश पोखेर केही हुँदैन । अहिलेको कार्यसमितिले राजीनामा दिँदा अधिवेसन सुनिश्चि हुन्छ भन्ने आधार दिनुस् हामी राजीनामाका लागि तयार छौं ।’
नीलकण्ठ रिजाल, पूर्वसह–महामन्त्री
रिजालले आफूहरु लोकतान्त्रका लागि लडिरहेको बताउँदै पार्टीले एक्कासि अधिवेशन नै स्थगित गरेर लोकतान्त्रिक पार्टीको सबैभन्दा सक्रिय संगठनको आन्तरिक लोकतन्त्रनै संकटमा पारेको भन्दै आक्रोश पोखेका छन् । यद्दपि रिजालले नेविसंघ आफ्नै आमा भएको तर्क गरेका छन् । उनले भने, ‘आमा नराम्री छन् भन्दैमा श्रीमतिलाई आमा मान्न सकिन्न । जे जस्तो भए पनि नेविसंघ हाम्रो आमा हो, यसलाई सुधारेर लैजान हामी सबै लाग्नुपर्छ ।’
राजीव ढुंगाना, पूर्वकोषाध्यक्ष
राजीव ढुंगानाले पनि अधिवेशनबाट राजनीतिक र शैक्षिक आन्दोलनलाई सशक्त पार्ने उद्येश्यका साथ देशभरबाट आएका प्रतिनिधिमाथि कुठाराघात भएको आरोप लगाएका छन । उनले अधिवेशन रोकेर अघि बढ्न खोजे प्रतिनिधिहरुले क्षमा नदिने पनि चेतावनी दिएका छन् । ढुंगानाले पटक–पटक मिति तय गर्ने अनि अधिवेशन चाहिं नगर्ने गर्दा अन्य संगठनहरुले नेविसंघको पनि अधिवेशन हुन्छ र भन्ने प्रश्न गर्न थालेको पनि बताएका छन् । उनले अधिवेशन नहुनुमा वर्तमान कार्यसमिति र पार्टी नेतृत्व दोषी रहेको आरोप लगाएका छन् ।
दीपक भट्टराई, अध्यक्षका प्रत्यासी
भट्टराईले जिम्मेवार कार्यकर्ता उत्पादन गर्नेभन्दा पनि नेताहरुको भरौटे, हुक्के चम्चे उत्पादन गर्ने गलत नियतका कारण अधिवेसन स्थगित भएको आरोप लगाएका छन् । उनले भने, ‘साथीहरुले टीका लगाउने प्रणालीको विरोध गर्ने हो भने विगतमा लगाएको टीका पुच्छनुस् । अधिवेशनमा नगएर टीका लगाउन जानेलाई नैतीक संकट पर्ने अवस्था श्रीजना गरौं ।
पदमराज पोखरेल, पूर्वकेन्द्रीय सदस्य
पोखरेलले महाधिवशेन स्थगनले नेविसंघको मात्रै नभएर कांग्रेस पार्टीको नै साख गिराएको बताए ।
पार्टी नेतृत्वले प्रतिनिधिहरुलाई खाने बस्ने खर्च बेहोर्नुपर्दछ, पोखरेलले भने । ‘समस्याको पोको खोलेपछि बल्ल स्थगित गरिएको छ । यो नालायक कार्यसमितिले राजिनामा दिएर पार्टीको संयन्त्रले महाधिवेसन गराउनुपर्छ ।”
शुभराम बस्नेत, अध्यक्षका प्रत्यासी
बस्नेतले विद्यार्थी संघलाई विद्यार्थीका हातमा दिनुको सट्टा नेताहरुले कब्जामा लिँदा अधिवेशन स्थगित भएको आरोप लगाएका छन् । महाधिवशेन एक्कासि स्थगित गरेकामा उलने घोर आपत्ति समेत प्रकट गरेका छन् । बस्नेतले नामै नसुनेकालाई पनि अध्यक्षका प्रत्यासी भनेर चिनाइएको प्रति समेत आपत्ति जनाएका छन् ।
‘वर्तमान कार्यसमिति र पार्टीको संयन्त्र असफल भएको हो । अब यो कार्यसमिति विघटन गरेर पार्टीबाट नै अधिवेशन गराइनुपर्छ ।’