काठमाण्डु, २८ भदौ– एकीकृत माओवादीले हृदयघात र मस्तिष्कघातका कारण अचेत भएका आफ्ना उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई थप
उपचारका लागि विदेश लाने तयारी गरेको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका बोगटीको स्वास्थ्यमा सन्तोषजनक सुधार नदेखिएपछि देशबाहिर लानेबारे शीर्ष नेतृत्वतहमा छलफल भएको हो ।
एमाओवादीले यसअघि शुक्रबारै बोगटीलाई बाहिर लान खोजेको थियो । तर चिकित्सकले केही दिन पर्खन आग्रह गरेकाले नर्भिक लगिएको हो । एमाओवादी पोलिट्ब्युरो सदस्य हितबाहादुर तामाङले भोलिसम्ममा पनि स्वास्थ्य स्थिर रहे बोगटीलाई उपचारका लागि दिल्ली लैजानेबारे छलफल भइरहेको जानकारी काठमाण्डु टुडेलाई दिए ।
‘भोलिसम्म पर्खने भन्ने कुरा भएको छ’, तामाङले भने, ‘भोलिसम्ममा पनि सन्तोषजनक सुधार नभए दिल्ली लाने कुरा छ ।’ यसैबीच एकीकृत माओवादी शीर्ष नेतृत्वमा बोगटीको उपचारमा संलग्न चकित्सकसँग परामर्श गरेको छ ।
चिकित्सकसँग सल्लाह गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, र महासचिव कृष्णबहादुर महरा लगायतका नेता अस्पताल पुगेका हुन् । आएपनि मष्तिष्कघातले गर्दा अवस्था अझैं गम्भीर छ ।
बोगटीलाई बिहीबार राति एक्कासि हृदयघात भएको थियो ।
बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा सोही दिन मुटुको रक्तनली खुलाउन एन्जिओप्लाष्टी सर्जरी गरिएको थियो । सर्जरीपछि मुटुको अवस्था सामान्य रहे पनि मस्तिष्कघातका कारण उनी अर्धचेत अवस्थामा छन् । बोगटीको होस आउन अझै कम्तिमा तीन दिन लाग्ने चिकित्सकले बताएका छन् ।
बाँया भागको मष्तिष्कमा रगत जमेका कारण शरीरको दायाँपट्टिको भाग चलेको छैन ।
बोगटीको हृदयरोग विशेषज्ञ डा. यादवदेश भट्ट र मष्तिष्क रोग विशेषज्ञ डा. पंकज जलान नेतृत्वको टोलीले उपचार गर्दै आएको छ ।