दाङ, २८ भदौ– नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले भावी संविधानसभा सम्पूर्ण विषयमा बाहिरै सहमति भए मात्र आफूहरु संविधान लेखन प्रक्रियामा सहभागी हुने स्पष्ट गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा वैद्यले संविधासभाबाट संविधान जारी गर्नु आफ्नो पार्टीको सरोकार नरहेको बताए । संविधानसभा बाहिरै सर्वपक्षीय राजनीतिक सभा गरेर संविधानका अन्तरवस्तुमा सहमति गरिनुपर्ने उनको भनाइ थियो ।
वैद्यले आफ्नो पार्टी संविधानसभालाई स्वीकार गरेर संसदीय भाषमा फस्ने पक्षमा नरहेको उल्लेख गरे । ‘संविधानसभाबाट संविधान जारी गर्नु हाम्रो सरकारको विषय होइन’, वैद्यले भने, ‘सर्वपक्षीय सभाबाटै सबै विषयको टुंगो लाग्नुपर्छ ।’ वैद्यले संविधानसहित युद्धकालिन मुद्धा र शान्ति प्रक्रियाबारे समेत सर्वपक्षीय सभाको एजेण्डा हुनुपर्नेमा जोड दिए ।
उनले संविधनसभाभित्र रहेका प्रमुख दल गम्भीर भए सर्वपक्षीय सभाबाट मुलुकले निकास पाउने विश्वाससमेत व्यक्त गरे । उनले सत्य निरुपण तथा मेलिमिलाप आयोगमा आफूहरुको प्रतिनिधित्व नभए शान्ति प्रक्रियाले पूर्णता पाउन नसक्ने जिकिर गरे । ‘हामी शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण हिस्सा हौं’, वैद्यले भने, ‘हामीलाई बाइपास गरियो भने शान्ति प्रक्रिया पूरा हुँदैन, संघर्षमा जान्छौं ।’