गोरखा, २८ भदौ– सरकारले यस वर्ष ८० घर चेपाङ र २० घर गन्धर्व समुदायलाई नयाँ घर बनाइदिने भएको छ ।
सहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत गोरखाका विभिन्न गाविसमा बसोबास गर्दै आएका अल्पसंख्यक चेपाङ र गन्धर्वलाई १०० घर बनाइदिन लागेको हो ।
घर निर्माणका लागि सरकारले यो आर्थिक वर्षमा दुई करोड पाँच लाख विनियोजन गरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन प्रमुख श्यामकिशोर सिंहले बताए ।
गोरखाको घ्याल्चोक, भुम्लिचोक, ताङ्लिचोक, मकैसिङ, ताक्लुङ र मनकामना गाविसमा चेपाङ र गोरखा नगरपालिकाभित्र पर्ने मसेल, पालुङ्टार र आँपपिपलमा गन्धर्व समुदायको बसोबास छ ।