सर्लाही, भदौ २८– सर्लाही बरहथवा–४ का एक ६० वर्षीय वृद्धले कान्छी श्रीमती बनाउने आश्वासन दिएर घर ल्याएका एक युवतीलाई केही दिन राखेर फिर्ता पठाएका छन् ।
वृद्ध रक्तु साहले काठमाण्डुबाट ललाई–फकाई एक १९ वर्षीया युवतीलाई घर ल्याएर केही दिन राखी फिर्ता पठाएका हुन् । उनले सिन्धुपाल्चोक मेलम्ची घर भएकी युवतीलाई छोरा श्याम साह र अर्का एकको सहयोगमा फकाएर २० भदौसम्म घर ल्याएका थिए ।
अर्का व्यक्तिको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । तर, साहका परिवारका अन्य सदस्यले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
उजुरी परेपछि महिला विकास नेपाल नामको संस्थाले युवतीको उद्धार गरी घर पठाएको संस्थाका संयोजक राउदेश महतोले जानकारी दिए ।
युवतीलाई साहले प्रशस्त सम्पत्ति दिएर कान्छी श्रीमती बनाएर राख्छु भनेकोले आफू आएको बताएकी थिइन् ।