काठमाण्डु, २७ भदौ – नेकपा-माओवादीले माग्दै आएको सर्वदलीय राजनीतिक सभा भदौ-३१ मा हुने भएको छ । कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादी नेताहरु रहेको कार्यदलको शुक्रबार बसेको बैठकले सम्मेलनको तिथी र समय तोेेकेको हाे ।
यसअघि सम्मेलन कहिले बोलाउने विषयमा चार दलबीच मतभेद रहँदै आएको थियो । प्रधानमन्त्री सुशील कोइराला भदौ-३ गते उपचारका लागि अमेरिका जानेभएपछि कांग्रेसले भदौ मसान्त भित्रै र नेकपा-माओवादीले असोज-५ गते सम्मेलनको प्रस्ताव गर्दै आएको थियो । बिहीबार बसेको प्रमुख नेताहरुको बैठकमा तिथीको टृुङ्गो लाग्न नसकेपछि सम्मेलन अनिश्चित हुन पुगेेको थियो ।
कार्यदलमा रहेका एक नेताका अनुसार सम्मेलनमा संविधानसभा रहेका सबै दलको सहभागिता रहने छ । संविधानसभा बाहिर रहेका नेकपा-माओवादी सहित अन्य कुन कुन दललाई सम्मेलनमा बोलाउने बारे आज/भोलिमा टुङ्गो गरिने उनले बताए । सरकारकाे आयोजनामा गरिने उक्त सम्मेलनको स्थान पनि टुङ्गो लाग्न बाँकी छ ।
सम्मेलनमा संविधान निर्माण सम्बन्धी विषयहरु बारे मुख्य रुपमा छलफल हुनेछ । सहमति हुन नसकेका साशकीय स्वरुप, संघीयता, निर्वाचन प्रणाली लगायतका विषयमा छलफल गरिने छ । कार्यदलका सदस्यका अनुसार विगतको संविधानसभाले गरेका सहमतिलाई संविधानसभा बाहिर रहेका दलको पनि स्वामित्व ग्रहण गर्ने गरी छलफल हुनेछ । विगतको संविधानसभामा नेकपा माओवादीका नेताहरुको पनि सहभागिता रहेको थियो ।
कार्यदलका सदस्य कांग्रेस महामन्त्री कृष्ण सिटौलाले यो राजनीतिक सम्मेलनले संविधान निर्माणको नियमित प्रक्रियालाई कुनै प्रतिकुल असर नपार्ने स्पष्ट पारेका छन् ।